२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

रिताको उपचारमा सकियो २५ लाखभन्दा बढी, जीवन बचाउन सहयोगको याचना

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ८ गते १५:१९
Shares
रिताको उपचारमा सकियो २५ लाखभन्दा बढी, जीवन बचाउन सहयोगको याचना

दोहा, कतार : म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवती थापाटोलकी ३२ वर्षीया रिता थापाको जीवन बचाउन परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अचानक मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) र फोक्सोमा गम्भीर समस्या देखिएपछि दुई महिनादेखि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रिताको उपचारमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

ncell

स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि रितालाई लामो समयदेखि सघन उपचार कक्ष (आइसियु) तथा विशेष निगरानीमा राखेर उपचार गराउनुपरेको छ । चिकित्सकीय उपचार अझै केही समय जारी राख्नुपर्ने भएपछि सामान्य आर्थिक अवस्था रहेको थापा परिवारका लागि खर्च धान्न कठिन भएको छ ।

रिताको उपचारका लागि आफन्त तथा छरछिमेकबाट ऋण धन गरेर अहिलेसम्म खर्च जुटाइएको थियो । तर, निरन्तरको उपचारले परिवारको आर्थिक स्रोत सकिएपछि थप उपचारका लागि सहयोगको अपिल गर्नुपरेको उनका श्रीमान् सुरेश थापाले बताए । रिताका दुई साना छोराछोरीसमेत छन् ।

“सास छउन्जेल आस मार्न भएन । आफ्ना साना बच्चाहरूलाई आमाको माया र साथबाट वञ्चित हुन नदिन म हर सम्भव प्रयास गरिरहेको छु,” सुरेशले भने, “तर एक्लो प्रयासले मात्र उपचार सम्भव नहुने अवस्था आयो। आफन्तको माया र शुभेच्छा हुँदाहुँदै पनि तत्काल नगद अभाव भएकाले सबैसँग सहयोगको अपिल गर्न बाध्य भएको छु ।”

मानवीय भावनाले रिताको जीवन रक्षाका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ। सहयोग गर्न इच्छुक महानुभावले प्रभु बैंकमा सुरेश थापाको नाममा रहेको खाता नम्बर १६३०११५३०६०००११ मा रकम जम्मा गर्न सक्नेछन् । बिरामीको अवस्था तथा सहयोगसम्बन्धी थप जानकारीका लागि सुरेश थापाको ९८४१०५०७५० मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

परिवारले आफ्नो क्षमताले भ्याएसम्म उपचार गरिसकेको र अब उपचारलाई निरन्तरता दिन समाजका सहयोगी हातको आवश्यकता परेको जनाएको छ । सहयोगको रकम सानो वा ठुलोभन्दा पनि संकटमा परेको एउटा परिवारलाई साथ दिने मानवीय भावना महत्त्वपूर्ण हुने भन्दै रिताको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर