
काठमाडौँ : राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्ति तथा सरुवामा हुने गरेको भनिएको आर्थिक चलखेल, कूटनीतिक नियुक्ति, बजारमा बढ्दो मूल्यवृद्धि र सुरक्षा व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासन, प्रशासनिक पारदर्शिता र नागरिक सुरक्षासँग जोडिएका विषय उठाएका हुन् ।
सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति तथा सरुवामा बिचौलियाको प्रभाव रहेको भन्दै त्यसबारे छानबिन गर्न सरकारसँग माग गरे । मन्त्रीहरूसमेत जोडिएको भनिएको अडियो संवाद सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै उनले प्रशासनिक क्षेत्रमा देखिएका अनियमिततामाथि गम्भीर अनुसन्धान आवश्यक रहेको बताए ।
सांसद मदनकुमारी शाहले कूटनीतिक नियुक्तिको विषयमा प्रश्न उठाइन् । स्थायी बसोवास अनुमति (पीआर) लिएका व्यक्तिलाई राजदूत नियुक्त गर्दा राष्ट्रिय हित र कूटनीतिक मर्यादामा प्रश्न उठ्न सक्ने भन्दै उनले जापानका लागि गरिएको राजदूत नियुक्तिबारे सरकारसँग स्पष्ट जवाफ माग गरिन् ।
बैठकमा सांसद युवराज शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्यका विभिन्न संयन्त्रमा समस्या देखिएको दाबी गरे । सांसद भुवनबहादुर सुनारले सरकारको आलोचना गर्नेहरूमाथि दमन भइरहेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।
सांसदहरूले प्राकृतिक विपद् र नागरिक सुरक्षाका विषयलाई समेत प्राथमिकताका साथ उठाएका छन् । सांसद तुलप्रसाद विश्वकर्मा र मदनकुमारी शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुन:स्थापनाका काम प्रभावकारी बनाउन माग गरे । उनीहरूले विपद्पछिको अवस्थाबारे अनुगमन गर्न गठन हुने संसदीय टोलीमा राष्ट्रिय सभाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए ।
सांसद नरबहादुर विष्टले सुर्खेतको चौकुने क्षेत्रमा सर्पदंशका घटना बढिरहेको भन्दै आवश्यक औषधिको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ग्रामीण क्षेत्रमा सर्पदंशको उपचारका लागि आवश्यक औषधि अभाव हुन नदिन स्वास्थ्य निकायलाई सक्रिय बनाउनुपर्ने उनको माग थियो ।
त्यस्तै, कीर्तिपुरमा भएको सवारीसाधन आगजनीको घटनालाई लिएर सांसद राजेन्द्रलक्ष्मी गैरेले सुरक्षा निकायको कार्यशैलीबारे प्रश्न उठाइन् । घटनाको पृष्ठभूमि र सुरक्षा व्यवस्थाबारे आवश्यक छानबिन गर्नुपर्नेमा उनले जोड दिइन् ।
सांसद सुरेशकुमार आले मगरले जलवायु परिवर्तनबाट उत्पन्न संकट न्यूनीकरणका लागि आदिवासी समुदायसँग रहेको परम्परागत ज्ञान, सीप र अनुभवको उपयोग गर्नुपर्ने बताए ।
सांसद सुंगेल्जेन शेर्पाले चाडपर्व नजिकिँदै गर्दा बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारसँग माग गरे । साथै बाढीपहिरोको जोखिम कायमै रहेकाले सम्भावित विपद् रोकथाम तथा उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा उनले जोड दिए ।
शून्य समयमा सांसदहरूले उठाएका विषयहरूमा सरकारले प्रभावकारी सम्बोधन गर्नुपर्ने र सुशासन, बजार व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षाका क्षेत्रमा राज्य संयन्त्रलाई थप जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।