
धादिङ : रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयले नियमित पठनपाठन अघि बढाएको छ ।
पुरानो भवननजिक महेश दोभानस्थित निर्माणाधीन १५ कोठाको भवनबाट विद्यालयले भदौ २४ यता तत्कालका लागि पठनपाठनलाई निरन्तरता दिएको हो । बाढीको खबरपछि कक्षाकोठामै झोला छोडेर भागेका विद्यार्थी कक्षामा फर्किएका छन् ।

कक्षाकोठा अपुग भएकाले बिहानी र दिवा गरेर दुई सिफ्टमा पठनपाठन सञ्चालन गरिएको विद्यालयको माध्यमिक तथा इन्चार्ज एवं सूचना अधिकारी प्रकाश मल्लले बताए । पठनपाठनसँगै विद्यालयले गल्छी गाउँपालिकाको स्वास्थ्य शाखा र अन्य संस्थाको सहयोगमा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको उनले सुनाए ।
नयाँ भवन त्रिशुली किनारमै रहेको र असुरक्षित रहेकाले पुरानै भवनमा सारिने उनले बताए । तत्कालका लागि इसीडीदेखि कक्षा ५ सम्म पुरानो भवनमा र कक्षा ६ देखि १२ सम्म नयाँ भवनमा कक्षा सञ्चालनको योजना रहेको उनले बताए ।

उनकाअनुसार बाढीले चार भवनमा क्षति पुगेको थियो । विद्यालयको तल्लो तलाका १७ वटा कोठामा रहेका कम्प्युटर ल्याब, इसीडी कक्षा, पुस्तकालयमा क्षति भएको थियो । घटनाको दिन समयमै खबर आएकाले आफूहरूले विद्यार्थीलाई माथिपट्टि डाँडामा स्थानान्तरण गरेको शिक्षक मल्लले सुनाए । विद्यालयमा करिब ५ हजारको संख्यामा परिचालित स्वयंसेवकले सहयोग गरेकै कारण पढाइ निरन्तरता दिन सफल भएको उनको भनाइ छ ।

विभिन्न पार्टीका विद्यार्थी संगठन, युवा संगठन, स्थानीय, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले विद्यालयको पठनपाठन पुरानै अवस्थामा फर्काउन सहयोग गरेका थिए । विद्यालयले पढाइ नियमित बनाउन कक्षाकोठामा आवश्यक फर्निचर, विद्युत, खानेपानी विभिन्न व्यक्ति र संघसंस्थाको सहयोग जुटाएको छ । ‘सरसफाइ भइसकेको छ । फर्निचर जुटाउने क्रममै छौँ । अहिले ६० जोडी डेस्क-बेञ्च छ । १ सय ४० जोडी भएपछि पुरानै भवनमा सर्छौं । रंगरोगनको काम पनि भइरहेको छ । दसैँअघि सबै कक्षा उता सार्न सम्भव छैन,’ शिक्षक मल्लले भने ।

कतिपय अभिभावकले विद्यार्थीलाई अझै ढुक्कले विद्यालय पठाउन सकेका छैनन् । बाल विकास कक्षा (ईसीडी)मा ल्याइने बच्चाका अभिभावकले अहिले पढाइ भइरहेको भवन नदी किनारमा रहेको र सुरक्षित नरहेको भन्दै विद्यालय पठाएका छैनन् । विद्यालयले अभिभावकलाई फोन गरेर परामर्श दिइरहेको र ती बच्चालाई विद्यालय फर्काउने प्रयास गरिरहेको छ । बागेश्वरी माविमा ४ सय १६ जना विद्यार्थी अध्ययनरत छन् ।





