
काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुगेको अपूरणीय जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगका अतिरिक्त ग्रुपले तत्काल राहत तथा मानवीय सहयोगका विभिन्न कार्यक्रमहरू समेत अघि बढाएको छ ।
विभिन्न भगिनी कम्पनीहरूको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको १ करोड १ लाख रुपैयाँको सहयोग शारदा ग्रुपअन्तर्गतका निम्न कम्पनीहरूको तर्फबाट प्रदान गरिएको हो :
पशुपति खाद्य तेल उद्योग प्रा.लि.: ६१ लाख रुपैयाँ
पशुपति सिनप्याक इन्डस्ट्रिज प्रा.लि.: १५ लाख रुपैयाँ
प्रिमियर वायर्स प्रा.लि.: १५ लाख रुपैयाँ
प्रिमियर डिस्टिलरी लिमिटेड: १० लाख रुपैयाँ
शिवम् सिमेन्टद्वारा प्रभावित गाउँको पुनर्निर्माण र थप २१ लाख सहयोग शारदा ग्रुपद्वारा प्रवर्द्धित कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै, ग्रुपद्वारा प्रवर्द्धित अर्को अग्रणी कम्पनी शिवम् सिमेन्ट लिमिटेडले विपद् प्रभावित क्षेत्रको एउटा गाउँलाई अपनाएर (एडप्ट गरेर) त्यसको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ ।
६० लाखको खाद्यान्न र निःशुल्क अक्सिजन सहायता तत्काल खाद्यान्न अभाव झेलिरहेका प्रभावितहरूका लागि शारदा ग्रुपले रमपम चाउचाउ, गुडलाइफ बिस्कुट र जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थहरू नेपाल सरकारलाई उपलब्ध गराएको छ, जुन विपद् प्रभावित क्षेत्रमा वितरण गरिनेछ । यसका साथै, प्रभावित जिल्लाहरूमा जारी राहत तथा उद्धार कार्यलाई सघाउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ ।
काठमाडौं र विराटनगरमा रक्तदान विपद्का घाइतेहरूका लागि आवश्यक पर्न सक्ने रगतको अभाव हुन नदिन ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसले रक्त बैंक र उद्धार कार्यमा थप सहयोग पुर्याउने विश्वास गरिएको छ ।
'कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी' ग्रुपको यस राहत पहलका बारेमा बोल्दै शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले भने, “यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । यस कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी हो । हाम्रो सहयोग र तत्कालीन राहत प्रयासमार्फत आवश्यकतामा रहेका समुदायलाई सहयोग पुग्नुका साथै सरकारको राहत, उद्धार तथा पुनर्निर्माण प्रयासमा टेवा पुग्नेछ ।”
शारदा ग्रुपले विपद्को यस घडीमा राहत तथा उद्धार कार्यमा निरन्तर खटिरहेका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।