
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भयानक बाढीबाट पीडितहरूको सहयोगका लागि वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था प्याराडाइज इन्टरनेसनल प्रा.लि.ले ४ लाख रुपैयाँ प्रदान गरेको छ ।
उक्त कम्पनीले शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा उक्त रकम जम्मा गरेको हो । कम्पनीले दैवी विपत्ति, प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्दै आएको कम्पनीका अध्यक्ष नवराज केसीले बताए ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितहरूको सहयोगका लागि व्यवसायी तथा संघसंस्थाले मुठ्ठी फुकाएर सहायता जुटाउन सक्रियता देखाएका छन् ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले राष्ट्रका सामु निम्तिएको अकल्पनीय पीडामा परेका दाजुभाइ, दिदीबहिनी तथा मृतकका आश्रित परिवारलाई सहयोग पुगोस् भनेर व्यवसायीहरूले उल्लेख्य मात्रामा संघको खातामा रकम जम्मा गरिरहेको बताए ।
संघसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थाले अप्रत्याशित रूपमा आएको बाढीले अपूरणीय क्षति पुर्याएको भन्दै बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि सहायता जुटाउन केन्द्रित भएको बताएका छन् ।
संघका अध्यक्ष डिकबहादुर खत्री 'कुमार'ले श्रम गन्तव्य मुलुकका रोजगारदाताहरूलाई सम्बोधन गर्दै सहयोगका लागि अपिल गरेका छन् ।
संघका द्वितीय उपाध्यक्ष अनिल बोगेटीले ५० हजार, महासचिव डाँगीले ५० हजार र पूर्व प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषमा एकद्वार प्रणालीअनुसार सहयोग गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष मदन कुमार पुर्बे र महासचिव रघुनाथ पनेरु (कालिका)ले विज्ञप्तिमार्फत सक्दो सहयोगका लागि आह्वान गरेका छन् ।