
काठमाडौं : वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा रजिस्टर्ड २५ म्यानपावर कम्पनीले मलेसियाको मागपत्र पूर्व स्वीकृतिका लागि पेस गर्न नसक्ने बनाएको छ । विभागकी महानिर्देशक मिरा आचार्यले युवा, श्रम तथा रोजगार मन्त्रालयको पत्रअनुसार उक्त कदम चालिएको मध्यान्ह दैनिकलाई जानकारी दिइन् ।
विभागको प्रणालीमा सम्बन्धित म्यानपावर कम्पनीले मलेसियाको मागपत्र पूर्व स्वीकृतिका लागि पेस गर्दा ‘भिजिट टु डोफे’ अर्थात् विभागमा सम्पर्क गर्नु भन्ने देखिने बनाइएको छ । विभागले मन्त्रालयको पत्रअनुसार विभागमा बोलाएर लिखित जवाफ लिई वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावलीअनुसार छानबिन र अन्य प्रक्रिया अघि बढाउने विभागकी महानिर्देशक आचार्यले जानकारी दिइन् । विभागले कारोबार रोकिएका सबै २५ कम्पनीलाई पाँच दिनको समय दिएर स्पष्टीकरण मागेको छ ।
२५ म्यानपावर कम्पनीको सूचीमा फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि., लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रा.लि., द रिभर ओभरसिज प्रा.लि., एसिया लिंक सर्भिसेस प्रा.लि., मोन्टेज ओभरसिज प्रा.लि., नेपाल एचआर सोलुसन प्रा.लि., स्काइ पावर इन्टरनेसनल सर्भिसेस, ट्रस्ट नेपाल ओभरसिज प्रा.लि., एक्सेस पार्टनर्स प्रा.लि., ह्वाइट हर्स इन्टरनेसनल प्रा.लि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेस प्रा.लि., बी.एम. ओभरसिज प्रा.लि., इन्डो अरब म्यानपावर प्रा.लि., संयोग ओभरसिज प्रा.लि., ट्यालेन्ट ओभरसिज सर्भिसेस प्रा.लि., वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि., ए.एन.एस. एसोसिएट्स प्रा.लि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रा.लि., डि स्क्वायर्ड ग्रुप, डिडी ह्युमन रिसोर्सेस ग्रुप प्रा.लि. र प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रा.लि. रहेका छन् ।
मन्त्रालयले संघको समन्वयमा एफडब्लुसिएमएसमा सहभागी नहुने प्रतिबद्धता माग गरेको थियो । बुधबार साँझसम्म एसिया लिंक र फ्रन्टलाइनबाहेक सबैले प्रतिबद्धतापत्र बुझाएका छन् ।
एसिया लिंकका सञ्चालक मिलन कट्टेलले संघका अध्यक्षले आफ्नो कम्पनीमा ताला लगाएका कारण कम्पनीको कार्यालय बन्द रहेको र प्राविधिक कारणले प्रतिबद्धतापत्र बुझाउन समस्या भएको जानकारी संघलाई गराएका छन् । ताला लगाउन गएका संघका अध्यक्षले नै ताला खोलिदिनुपर्ने उनको भनाइ रहेको संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
फ्रन्टलाइनका सुरज केसी काम विशेषले आफू युएईमा रहेको र स्वदेश फर्किएपछि संघ तथा विभागलाई स्पष्टीकरण दिने बताएको पनि पौडेलले जानकारी दिए ।
यसैबीच, संघले मलेसियाको एफडब्लुसिएमएस प्रणालीमा सूचीकृत २५ वटा इजाजतपत्रवाला संस्थामाथि विभागबाट प्रारम्भिक कारबाही प्रक्रिया सुरु भएको भन्दै मलेसिया कामदार पठाउने मुलुकहरूबीच ऐक्यबद्धता र समान एजेन्डा उठाउन पहल गर्ने बताएको छ ।
नेपालमा भएको सिन्डिकेटविरोधी आन्दोलनलाई बंगलादेश, पाकिस्तान र भारतका म्यानपावर कम्पनीले विशेष ध्यान दिएर अध्ययन गरेको बताइएको छ । यसका अतिरिक्त संघले दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल सुरु गरेको महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए ।