
काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले मलेसिया सिन्डिकेट खारेजीका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई ढिलासुस्ती गर्ने छुट नरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मंगलबार आयोजना गरेको मलेसिया सिन्डिकेटविरुद्धको व्यवसायी भेला तथा हस्ताक्षर अभियानमा उपस्थित व्यवसायीहरूले मलेसियाको एफडब्लुसिएमएसमा नाम रहेका २५ जना व्यवसायीको नाम हटाउने कुरामा ढिलासुस्तीले निकास नहुने भन्दै संघ थप सशक्त हुनुपर्ने बताए ।
सभालाई संवोधन गर्दै एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको बताए । उनले युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको छलफलले व्यवसायी ढुक्क हुनुपर्नेमा त्रसित भएको भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको बताए ।
महासचिव सुमनराज पाण्डेले सिन्डिकेटधारीहरूले अन्य व्यवसायीको नाडी छामिरहेको भन्दै एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले मञ्च अत्यन्तै प्रतिबद्ध भएर सिन्डिकेटविरुद्धको आन्दोलनमा लागेको भन्दै व्यवसाय रक्षाका लागि जुनसुकै मूल्य चुकाएर भए पनि व्यवसायीको आन्दोलन सफल बनाउने बताए ।
एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले अन्य व्यवसायीको रोजीरोटी खोसे २५ व्यवसायीको घर–सम्पत्ति बाँकी नरहने चेतावनी दिए । उनले भने, ‘अरूलाई मार्ने तर आफूमात्रै व्यवसाय गर्ने गरी लोभ गर्यौं भने गत वर्ष भदौ २३ र २४ गते नेताहरूको जे हालत भयो, तपाईंहरूलाई व्यवसायीले त्यही हालतमा पुर्याउने छन् ।’
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले २५ व्यवसायीले तत्कालै नाम फिर्ता नलिए कार्यालयमा अप्रिय घटना हुनसक्ने चेतावनी दिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मीले सिन्डिकेटविरुद्ध जस्तोसुकै कठिनाइ भए पनि व्यवसायी पछि हट्न नहुने भन्दै व्यवसायी ऐक्यबद्धतामा जोड दिइन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले सिन्डिकेट कुनै पनि हालतमा सफल नहुने बताए । व्यवसायीहरू सिन्डिकेटविरुद्धको आन्दोलनमा मर्न तयार भएर बसेकाले सिन्डिकेट समूहले व्यवसायीलाई चानचुन सम्झन नहुने उनको भनाइ थियो ।
कार्यक्रम सचिव हेमा गुरुङले सञ्चालन गरेकी थिइन् ।