
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)बाट बाहिरिने आश्वासन दिएका २५ वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ ।
सोमबार श्रम मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा २५ म्यानपावर कम्पनीका सञ्चालकहरूले मलेसियाको एफडब्लुसिएमएसमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रालयले एफडब्लुसिएमएसबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि २५ वटा म्यानपावर कम्पनीका सञ्चालक प्रत्येकको निवेदन आवश्यक हुने भन्दै कम्पनीको लेटरप्याडमा निवेदन माग गरेको हो ।
सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले २५ व्यवसायीलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताए । मन्त्रालयलाई निवेदन बुझाउने समयसीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनुपर्ने अध्यक्ष खत्रीले बताए । निवेदनको फम्र्याट संघको समन्वयमा तयार गरिने बताइएको छ ।
२५ म्यानपावर कम्पनीको सूचीमा फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि., लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रा.लि., द रिभर ओभरसिज प्रा.लि., एसिया लिंक सर्भिसेस प्रा.लि., मोन्टेज ओभरसिज प्रा.लि., नेपाल एचआर सोलुसन प्रा.लि., स्काइ पावर इन्टरनेसनल सर्भिसेस, ट्रस्ट नेपाल ओभरसिज प्रा.लि., एक्सेस पार्टनर्स प्रा.लि., ह्वाइट हर्स इन्टरनेसनल प्रा.लि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेस प्रा.लि., बी.एम. ओभरसिज प्रा.लि., इन्डो अरब म्यानपावर प्रा.लि., संयोग ओभरसिज प्रा.लि., ट्यालेन्ट ओभरसिज सर्भिसेस प्रा.लि., वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि., ए.एन.एस. एसोसिएट्स प्रा.लि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रा.लि., डि स्क्वायर्ड ग्रुप, डीडी ह्युमन रिसोर्सेस ग्रुप प्रा.लि. र प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रा.लि. रहेका छन् ।
सोमबारको छलफलमा एसिया लिंक सर्भिसेस प्रा.लि.का सञ्चालक मिलन कट्टेल, ट्रस्ट नेपाल ओभरसिज प्रा.लि.का रविन गुरुङलगायत ३ म्यानपावर कम्पनीका सञ्चालक र अन्यका प्रतिनिधि छलफलमा सहभागी भएका थिए ।
मन्त्रालयले संघको समन्वयमा भएको छलफलको निष्कर्षअनुसार परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल अघि बढाउने मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
श्रम मन्त्रालयले मलेसियाको एसडब्लुसिएमएस पोर्टलको ‘रिक्रुटमेन्ट एजेन्सी’मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि २५ वटा संस्थाहरूको सूची मान्य नहुने भन्दै पुरानो प्रणाली नै कायम हुनुपर्ने अडान सार्वजनिक गरिसकेको छ ।
छलफलमा सहभागी एसिया लिंकका सञ्चालक कट्टेलले एफडब्लुसिएमएसमा संलग्न हुन नचाहेको र उक्त प्रणालीबाट आफ्नो कम्पनीको नाम फिर्ता गराउन सरकारले दिने सबै निर्देशन निःशर्त पालना गर्ने प्रतिबद्धता जनाएको भन्दै सरकारले आफ्नो कम्पनी र सम्पत्तिको संरक्षण गर्नुपर्ने माग भने आफूले राखेको बताए ।
कट्टेलले मलेसियामा नयाँ प्रणाली लागू हुने, तर नेपाल अन्योलमा बस्ने अवस्थाले नेपालको आकर्षक श्रम गन्तव्य लामो समयका लागि बन्द हुनसक्ने खतरातर्फ सरकार तथा व्यवसायी सचेत हुनुपर्ने आफ्नो धारणा रहेको समेत बताए ।
छलफलमा सहभागी ट्रस्ट ओभरसिज नेपालका गुरुङले मलेसिया रोजगारीमा सिन्डिकेट हुनुहुँदैन भन्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, आम व्यवसायी र ट्रस्ट नेपालको समान धारणा रहेको भन्दै एफडब्लुसिएमएसबाट कम्पनीको नाम फिर्ताका लागि संघ र मन्त्रालयलाई जुनसुकै सहयोग गर्न आफू तयार रहेको बताए ।