
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीका लागि २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै सूचीकृत गरिएको विषयमा आपत्ति जनाएको छ ।
संघले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै अवसर दिने व्यवस्था खारेज गरी सबै इजाजतपत्र प्राप्त व्यवसायीलाई समान प्रतिस्पर्धाको वातावरण बनाउन माग गरेको छ ।
संघका अध्यक्ष भीष्मराज अधिकारीले मलेसिया रोजगारीमा देखिएको ‘सिन्डिकेटको खेल’ तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनले कानुनी रूपमा इजाजतपत्र लिएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका सबै संस्थालाई समान अवसर उपलब्ध गराउनुपर्ने बताए ।
मलेसियाको एफडब्लुसिएमएस पोर्टलअन्तर्गत नेपाली श्रमिक पठाउने ‘रिक्रुटमेन्ट एजेन्सी’का रूपमा २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै सूचीकृत हुनुको आधार र प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने अधिकारीको माग छ ।
उनले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धाको अधिकार सबै व्यवसायीलाई समान रूपमा सुनिश्चित गर्नुपर्ने बताए । सीमित संस्थालाई मात्र मलेसिया रोजगारीमा श्रमिक पठाउने अधिकार दिँदा अन्य वैदेशिक रोजगार व्यवसायी संस्था प्रत्यक्ष रूपमा प्रभावित हुने उनको भनाइ छ ।