२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मलेसिया रोजगारीको सिन्डिकेटमा हाम्रो संलग्नता छैन : इन्टरनेसनल म्यानपावर

Nada
२०८३ भदौ ७ गते २०:१६
Shares
मलेसिया रोजगारीको सिन्डिकेटमा हाम्रो संलग्नता छैन : इन्टरनेसनल म्यानपावर

काठमाडौं : इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले मलेसिया रोजगारीसम्बन्धी बिना कारण आफ्नो कम्पनीको नाममा भ्रामक प्रचार फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

ncell

कम्पनीका सञ्चालक वाइबी राईले विगत केही दिनदेखि विभिन्न अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीका नाममा कथित रूपमा सिन्डिकेट खडा गर्ने कार्यमा इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.को नाम जोडेर विभिन्न किसिमका समाचार, टिप्पणी र धारणा सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले भनेका छन्, 'मलेसियाको एफडब्लुसीएमएस पोर्टलअन्तर्गत ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीज्’ शीर्षकमा मलेसिया जाने नेपाली श्रमिकका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची प्रकाशित भएको तथा उक्त सूची निर्माण वा त्यससँग सम्बन्धित कथित सिन्डिकेट प्रक्रियामा मेरो वा मसँग सम्बद्ध कम्पनीको संलग्नता रहेको भन्ने आशयका समाचार तथा आरोपहरू पूर्णतः निराधार, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पार्न चाहन्छु । सर्वप्रथम, म स्वयं तथा मसँग सम्बद्ध इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. उक्त सूची तयार गर्ने वा त्यसमा कम्पनीको नाम समावेश गर्ने प्रक्रियामा कुनै पनि रूपमा संलग्न नरहेको तथा यस विषयमा पूर्णतः अनभिज्ञ रहेको स्पष्ट पार्न चाहन्छु ।'

उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रचारित सामग्रीका आधारमा आफ्नो कम्पनीको नाम जोडिनु दुःखद् र खेदजनक विषय भएको बताएका छन् ।

इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. नेपाल सरकारको नीति, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय श्रम र आप्रवासनका स्थापित मापदण्डअनुसार स्वच्छ, न्यायोचित तथा नैतिक भर्ना प्रक्रियामार्फत मात्र आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको कम्पनी भएको भन्दै राईले नेपाली श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित वैदेशिक रोजगारीमा पठाउने उद्देश्यलाई कम्पनीले आफ्नो मूल सिद्धान्तका रूपमा आत्मसात् गर्दै आएको बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायमा समान अवसर, निष्पक्ष प्रतिस्पर्धा तथा पारदर्शी व्यावसायिक वातावरण कायम हुनु आवश्यक रहेको दृढ धारणा रहेको भन्दै सञ्चालक राईले कुनै निश्चित व्यवसायी वा संस्थालाई विशेष लाभ पुग्ने गरी अन्य इजाजतप्राप्त व्यवसायी संस्थालाई प्रतिस्पर्धाबाट वञ्चित, सीमित वा विभेद गर्ने प्रकृतिको कुनै पनि व्यवस्था, प्रक्रिया वा कार्य स्वस्थ तथा निष्पक्ष प्रतिस्पर्धाको मूल मान्यताविपरीत भएको बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायमा सबै इजाजतप्राप्त व्यवसायी संस्थालाई समान अवसर, समान व्यवहार र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सुनिश्चित गरिनुपर्नेमा आफू दृढतापूर्वक उभिएको पनि उनले बताएका छन् ।

विशेषतः इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) द्वारा सञ्चालित इन्टरनेसनल रिक्रुटमेन्ट इन्टेग्रिटी सिस्टमद्वारा प्रमाणित भएको र ‘दि फेयर हाइरिङ इनिसिएटिभ्स’ अन्तर्गत ‘अन द लेभल (ओटिएल)’ को प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो म्यानपावर कम्पनी भएको भन्दै त्यसले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई शून्य लागत तथा न्यायोचित र नैतिक भर्ना प्रक्रियामार्फत रोजगारीका अवसर उपलब्ध गराउँदै आएको बताएका छन् ।

विगत करिब दुई दशकदेखि मलेसियालगायत विभिन्न मुलुकमा नेपाली श्रमिक पठाउँदै आएको कम्पनीले हालसम्म २० हजारभन्दा बढी नेपाली श्रमिकलाई मलेसियालगायत विभिन्न गन्तव्य मुलुकमा स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रियामार्फत निःशुल्क वैदेशिक रोजगारीमा पठाइसकेको जनाएको छ ।

कम्पनीले सन् २०१६ देखि न्यायोचित तथा नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा अवलम्बन गर्दै आएको र सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा लाग्ने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ तथा श्रमिकमैत्री भर्ना प्रक्रिया अपनाउँदै आएको पनि स्पष्ट पारेको छ ।

कम्पनीको विगतको लामो अनुभव, व्यावसायिक अभ्यास, अन्तर्राष्ट्रिय मापदण्डप्रतिको प्रतिबद्धता तथा हजारौं नेपाली श्रमिकको हितमा गरिएको कार्यलाई बेवास्ता गर्दै कुनै ठोस प्रमाण र सत्यतथ्यबिना कम्पनीको नाम हचुवा तवरबाट जोडिँदा दुई दशक लामो व्यावसायिक साखमा गम्भीर आघात पुग्नुका साथै कम्पनीले विगतदेखि स्वच्छ, निष्पक्ष र कानुनी तवरबाट गर्दै आएको कामलाई आक्षेप लगाई दुराशयपूर्ण तवरबाट आरोप लगाइएको कम्पनीको दाबीसमेत छ ।

कम्पनीको ख्याति तथा प्रतिष्ठाको रक्षाका लागि कानुनी उपचारका लागि आवश्यक तथ्य र प्रमाण संकलन गरिरहेको भन्दै सञ्चालक राईले सत्यतथ्य नबुझी वा अपुष्ट, अधुरो तथा एकपक्षीय सूचनाका आधारमा कम्पनी तथा कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको नाम जोडेर समाचार, सूचना, टिप्पणी वा धारणा सार्वजनिक नगर्न आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर