२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

२४ घण्टा नबित्दै सिन्डिकेटमा संलग्न नभएको द रिभर ओभरसिजकाे स्पष्टीकरण

Nada
२०८३ भदौ ७ गते १३:५७
Shares
२४ घण्टा नबित्दै सिन्डिकेटमा संलग्न नभएको द रिभर ओभरसिजकाे स्पष्टीकरण

काठमाडौं : द रिभर ओभरसिज प्रा.लि.ले मलेसियामा नेपाली श्रमिक पठाउन सूचीकरणप्रति आफ्नो असहमति सार्वजनिक गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नाममा सार्वजनिक स्पष्टीकरण लेख्दै उक्त प्रा.लि.का सञ्चालक रघुनाथ पुरीले हालै सार्वजनिक रूपमा प्रसारित भएको कथित २५ जनाको सिन्डिकेटसम्बन्धी सूचीमा द रिभर ओभरसिज प्रा.लि.को नाम समावेश भएको सम्बन्धमा आफ्नो कुनै संलग्नता, सहमति वा समर्थन नरहेको स्पष्ट पारेका छन् । साथै, उक्त सीमित सूचीकरणप्रति आफ्नो स्पष्ट असहमति रहेको बताएका छन् ।

ncell

स्पष्टीकरणमा कुनै पनि प्रकारको सिन्डिकेट व्यवस्था अस्वीकार्य रहेको स्पष्ट धारणा रहेको भन्दै नेपालबाट मलेसिया लगायत वैदेशिक रोजगार गन्तव्यमा श्रमिक पठाउने प्रक्रियालाई सीमित संख्याका व्यवसायी संस्थामा मात्र सीमित गर्नु उचित नहुने प्रा.लि.को विश्वास रहेको उल्लेख गरिएको छ ।

नेपाल सरकारद्वारा प्रचलित कानुन, नीति, मापदण्ड तथा प्रक्रियाअनुसार योग्य ठहरिएका सबै वैदेशिक रोजगार व्यवसायी संस्थाले समान अवसर, निष्पक्ष प्रतिस्पर्धा र कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने अधिकार प्राप्त गर्नुपर्छ भन्नेमा आफू दृढ रहेको समेत पुरीले बताएका छन् ।

सञ्चालक पुरीले द रिभर ओभरसिज प्रा.लि. नेपाल सरकारका नीति, नियम तथा निर्णयहरूको पूर्ण सम्मान गर्दै स्वस्थ, पारदर्शी, उत्तरदायी र नैतिक वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । श्रमिकको अधिकार, हित र कल्याणलाई सर्वोच्च प्राथमिकतामा राख्दै कानुनी तथा जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तर प्रवर्द्धन गर्नु नै कम्पनीको मूल प्रतिबद्धता रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, 'हामी विश्वास गर्दछौं कि व्यवसाय स्वस्थ हुनुपर्छ, प्रक्रिया पारदर्शी हुनुपर्छ, प्रतिस्पर्धा निष्पक्ष हुनुपर्छ र श्रमिकको हित सर्वोपरि हुनुपर्छ । यही मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै, मेरो जानकारी तथा सहमतिबिना मेरो र मेरो संस्थाको नाम उक्त सूचीमा समावेश गरिएकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गर्न चाहन्छु ।'

संघले शनिबार मलेसियाको एफडब्लुसिएमएसमा सूचीकृत २५ संस्थालाई तत्कालका लागि निलम्बन गर्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर