
रियाद : साउदी अरेबियामा वैदेशिक रोजगारीका क्रममा रहेका धनुषाको सबैला नगरपालिका–३, सबैलाका ४२ वर्षीय नेपाली श्रमिक कामेश्वर साह विगत करिब २० दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजी तथा उद्धारका लागि सहयोगको अपिल गरिएको छ ।
साह विगत करिब दुई वर्षदेखि रियादस्थित साउदी सर्भिसेस फर इलेक्ट्रो मेकानिक वर्क्स (SSEM) कम्पनीमा लेबरका रूपमा कार्यरत रहेको र कम्पनीले कामको सिलसिलामा उनलाई रियादबाट करिब ३००–४०० किलोमिटर टाढा रहेको अल अहमर क्षेत्रमा पठाएको जानकारी प्राप्त भएको छ । त्यसयता उनीसँग परिवार, आफन्त तथा सम्बन्धित व्यक्तिहरूको सम्पर्क हुन सकेको छैन ।
कम्पनी तथा क्याम्पबाट प्राप्त जानकारीअनुसार साहको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ । तर उनी हाल कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेपछि परिवार तथा आफन्त थप चिन्तित बनेका छन् । उनको खोजीका लागि सम्बन्धित कम्पनी, नेपाली समुदाय तथा सरोकारवाला निकायमार्फत आवश्यक पहल र समन्वय गर्न आग्रह गरिएको छ ।
कामेश्वर साहको स्थायी ठेगाना धनुषा, सबैला नगरपालिका–३, सबैला रहेको छ । उनको पासपोर्ट नम्बर PA३१५७३२९ रहेको जनाइएको छ । साहलाई कसैले देखे, भेटेमा वा उनको अवस्थाबारे कुनै जानकारी पाएमा हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्याम कुमार महतोलाई +९६६५५३६०६७३ मा तत्काल सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
साथै, सम्पर्कविहीन साहको खोजतलास, आवश्यक उद्धार तथा सुरक्षित रूपमा नेपाल फर्काउने कार्यमा नेपाली राजदूतावास, रियादलगायत सम्बन्धित निकायले आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको छ । साउदी अरेबियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो सूचना आफ्नो सामाजिक सञ्जाल तथा सम्बन्धित समूहहरूमा अधिकतम सेयर गरी कामेश्वर साहलाई परिवारको सम्पर्कमा ल्याउने अभियानमा सहयोग गरिदिन अपिल गरिएको छ ।