
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिँदै आएको आन्तरिक विवाद, राजनीतिक प्रभाव र संस्थागत असमझदारी संवाद र सहकार्यबाट समाधान गर्दै संघलाई एकताबद्ध बनाउनुपर्नेमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसिसी) युएईका अध्यक्ष भीम मल्ल ठकुरी र एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले जोड दिएका छन् ।
एनसिसी कतारले कतार भ्रमणमा रहेका ठकुरीको सम्मानमा आयोजना गरेको भेटघाटमा उनीहरूले एनआरएनएको संस्थागत अवस्था, श्रमिकका समस्या तथा आगामी कार्यदिशाबारे धारणा राखेका हुन् । ठकुरीले एनआरएनए कुनै व्यक्ति वा राजनीतिक दलको स्वार्थ पूरा गर्ने संस्था नभई विश्वभरका गैरआवासीय नेपालीको साझा संस्था भएकाले दलगत प्रभावबाट मुक्त राख्नुपर्ने बताए । कतारमा देखिएको संस्थागत एकताको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै उनले युएईमा देखिएको असमझदारी पनि संवाद र सहकार्यबाट समाधान हुने विश्वास व्यक्त गरे । 'संस्थागत असमझदारीभन्दा ठुलो कुरा एनआरएनए अभियान हो,' उनले भने ।
एनसिसी कतारका अध्यक्ष पन्थीले संस्थालाई फुटाउन सजिलो भए पनि जोडेर अघि बढाउन कठिन हुने बताए । कतारमा विगतमा संस्थागत एकता कायम गर्ने क्रममा विभिन्न चुनौती आए पनि समयमै दृढ निर्णय लिन सकेकाले एकता सम्भव भएको उनको भनाइ थियो । एनआरएनएलाई दलगत स्वार्थभन्दा माथि उठाएर सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
यसैबीच, ठकुरी सहयोग सञ्जाल कतार र रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको संयुक्त आयोजनामा भएको भेटघाट तथा सम्मान कार्यक्रममा ठकुरीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ । प्रवासमा नेपाली समाज तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहितमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी युवराज गुरुङ र अनिल गुरुङलाई समेत सम्मान गरिएको थियो ।
सम्मानपछि ठकुरीले कतार तथा युएईमा रोजगारीको प्रलोभन देखाएर नेपालीलाई अलपत्र पार्ने र आफ्नै नेपालीबाट ठगिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । समस्यामा परेका श्रमिकको सहयोग र उद्धारका लागि आफूहरू निरन्तर सक्रिय रहेको बताउँदै उनले झुटा आश्वासन र प्रलोभनमा नपर्न आग्रह गरे । हालै निर्वाचित ठकुरी सहयोग सञ्जाल कतारको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले आगामी दिनमा कतार–युएईबिच सामाजिक सहकार्य थप सशक्त बनाउनुपर्ने बताए । भेटघाटका क्रममा आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन कतारमा आयोजना गर्ने विषयमा समेत छलफल भएको थियो ।