
रियाद, साउदी अरेबिया : साउदी अरेबियाको राजधानी रियादमा झापाली समाज–साउदी अरेबियाको तेस्रो महाधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित गायिका रचना रिमालको सुमधुर सांगीतिक प्रस्तुति प्रमुख आकर्षणका रूपमा देखिएको थियो । शुक्रबार आयोजित कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा उपस्थित नेपाली दर्शकहरू उत्साहित र मन्त्रमुग्ध बनेका थिए ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिताबीच रिमालले विभिन्न लोकप्रिय गीत गाएकी थिइन् । उनी मञ्चमा देखिनासाथ दर्शकहरूले ताली, हुटिङ र नृत्यमार्फत भरपूर साथ दिएका थिए । लामो समयदेखि नेपाली सांगीतिक वातावरणबाट टाढा रहेका प्रवासी नेपालीहरूका लागि उक्त प्रस्तुति मनोरञ्जनसँगै आफ्नो पहिचान र संस्कृतिसँग जोडिने अवसर बनेको थियो । कार्यक्रममा रिमालसँगै म्हेन्दोमाया मोडल तथा डान्सर पारु वाइवा तामाङ, नेपाली नृत्य समूह रियाद तथा स्थानीय कलाकारहरूले समेत आकर्षक प्रस्तुति दिएका थिए ।

महाधिवेशनले राजु बराललाई झापाली समाज–साउदी अरेबियाको नयाँ अध्यक्षमा चयन गरेको छ भने गोपालप्रसाद आचार्य महासचिव बनेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ढुंगेल, उपाध्यक्षमा श्रीदेवी सुतार कार्की र गंगा केरुङ लिम्बु, महिला उपाध्यक्षमा कृष्णमाया हुमागाईं आचार्य, सहसचिवमा दिवस घिमिरे र कोषाध्यक्षमा राजेश गौतम चयन भएका छन् । सह–कोषाध्यक्ष पद पछि मनोनयन गरिने जनाइएको छ ।
नयाँ कार्यसमितिमा रमेश सिटौला, सन्तोष पाठक, भोला पौडेल, कुमार बराइली, मेनी उप्रेती, मिना न्यौपाने, मनोहरी सिटौला, पूर्णप्रसाद नेपाल, मनोज बिष्ट, नवीन रिजाल, शिव न्यौपाने, रविन अधिकारी, चुनामणि शंकर, बिपिन केरुङ, गोपाल भण्डारी र नैना लिम्बु सदस्य रहेका छन् । प्रमुख सल्लाहकारमा रबिन गिरी चयन भएका छन् भने सल्लाहकारहरूमा राजेन्द्र थापा, होम थापा, काजिमान कन्दङ्वा, बलराम थापा, किरण चौधरी, इन्द्र गिरी, रमेश भट्टराई र बलबहादुर गिरी रहेका छन् ।

कार्यक्रम समाजका अध्यक्ष रबिन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली दूतावास, रियादकी कार्यवाहक राजदूत सिर्जना अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । साथै लेबर काउन्सिलर कबिराज उप्रेती, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो । वक्ताहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा झापाली समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रवेश शुल्क २५ साउदी रियाल निर्धारण गरिएको थियो । आयोजकका अनुसार कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बाँकी रहेको रकम वृद्धाश्रमलाई सहयोग गरिनेछ । समाजले प्रवासमा नेपाली कला, संस्कृति, मनोरञ्जन र समाजसेवालाई एकैसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

यद्यपि कार्यक्रम भव्य रूपमा सम्पन्न भए पनि क्याटरिङमार्फत उपलब्ध गराइएको खाना र पानीको मूल्य महँगो भएको भन्दै केही दर्शकले असन्तुष्टि व्यक्त गरेका थिए । सहभागीहरूले यस्ता ठूला कार्यक्रमहरूमा खानपिनको मूल्यलाई पारदर्शी र सहज बनाउन आगामी दिनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
समग्रमा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम र नयाँ नेतृत्व चयनसँगै उक्त कार्यक्रमले रियादस्थित नेपाली समुदायमा उत्साह र एकता थपेको छ । प्रवासमा नेपालीपनलाई जगेर्ना गर्दै सामाजिक उत्तरदायित्वसँग जोडिएको यस कार्यक्रमले समुदायबीच सहकार्य र सद्भावलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।