२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

निराशा होइन, आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल सम्भव : सुहाङ नेम्वाङ

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २२ गते २१:५६
Shares
निराशा होइन, आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल सम्भव : सुहाङ नेम्वाङ

दोहा, कतार : नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले समस्या लुकाएर होइन, यथार्थ स्वीकार गर्दै प्रभावकारी कार्यान्वयन, आत्मसमीक्षा, नैतिक नेतृत्व र जनउत्तरदायी राजनीतिबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने बताएका छन् ।

ncell

प्रवासी नेपाली मञ्च कतारको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार दोहाको वेस्ट बेस्थित सेन्ट्रा हलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले निराशा फैलाएर होइन, जनतामा आशा जगाउने, सपना देखाउने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता रहेको बताए ।

नेपालमा अधिकांश क्षेत्रमा कानुन, नीति तथा संस्थागत संरचना निर्माण भइसके पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकले अपेक्षित सेवा–सुविधा प्राप्त गर्न नसकेको उनको भनाइ थियो । कृषि, श्रम, वैदेशिक रोजगार, हुन्डी तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) लगायतका क्षेत्रमा कानुनी व्यवस्था रहे पनि कार्यान्वयन कमजोर भएकाले समस्या दोहोरिइरहेको उनले बताए ।

कतारमा कार्यरत नेपालीहरूले उठाएका मोबाइल, सुन, भन्सार तथा अन्य व्यवहारिक समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै उनले समयानुकूल कानुन र नीतिमा सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । कानुनको उद्देश्य अवैध कारोबार नियन्त्रण गर्नु भए पनि त्यसको असर इमानदार नागरिकमाथि परेको स्वीकार गर्दै उनले कानुनी व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याए ।

No description available.

नेम्वाङले लोकतन्त्रको आधार फरक विचारको सम्मान भएको उल्लेख गर्दै व्यक्तिपूजाको संस्कृति अन्त्य गर्नुपर्ने र असहमतिलाई व्यक्तिगत वैमनस्यका रूपमा लिन नहुने बताए । आत्मसमीक्षा र आत्मालोचनाबाट नेतृत्वको उचाइ घट्ने नभई जनविश्वास बढ्ने उल्लेख गर्दै उनले जनताको विश्वास पुनः जित्न व्यवहार, नैतिकता र जनउत्तरदायित्वमा सुधार आवश्यक रहेको धारणा राखे ।

कम्युनिस्ट शक्तिको मत घट्दैमा विचारधारा समाप्त नहुने उल्लेख गर्दै उनले समाजमा असमानता, शोषण र सामाजिक न्यायको आवश्यकता रहुञ्जेल वामपन्थी विचार सान्दर्भिक रहने बताए । तर जनभावनाअनुसार काम गर्दै आफ्ना कमजोरीको समीक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

विशेषगरी ३५ वर्षमुनिका युवामा राजनीतिक दलप्रतिको विश्वास घट्दै गएको अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै उनले युवाले भाषणभन्दा परिणाम, नैतिकता र व्यवहारलाई बढी मूल्याङ्कन गर्ने भएकाले नेतृत्वले कामबाट विश्वास जित्नुपर्ने धारणा व्यक्त गरे ।

नेतृत्व छनोटमा शैक्षिक योग्यता, अनुभव र क्षमतासँगै इमानदारी, निष्ठा, नैतिकता तथा जनभावना बुझ्ने क्षमतालाई आधार बनाउनुपर्ने उनले बताए । युवाको ऊर्जा र अग्रज पुस्ताको अनुभव राष्ट्र निर्माणका दुई महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दुवै पुस्ताबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

नेम्वाङले संविधान निर्माण, शान्ति प्रक्रिया तथा पूर्वाधार विकासका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । सामाजिक सञ्जालमा हुने गालीगलौज, व्यक्तिगत आक्रमण तथा संगठनभित्रका असहमतिलाई सार्वजनिक गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले मतभेदलाई संवाद र छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिए । साथै, पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्न सबैलाई आग्रह गरे ।

उद्घाटन समारोह मञ्चका अध्यक्ष चुनामणि कार्कीको अध्यक्षता तथा सुहाङ नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कतारस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि, प्रवासी समुदायका अगुवा, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै सुहाङ नेम्वाङजस्ता युवा नेताहरूको उदयले नेपाली राजनीतिमा नयाँ ऊर्जा र सकारात्मक नेतृत्व विकासको सम्भावना बढाएको बताए ।

वक्ताहरूले खाडीमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालका विमानस्थलमा हुने विभेदपूर्ण व्यवहार, विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइने दुईवटा मोबाइल फोन (आईफोन) समेत ल्याउन नपाउने व्यवस्था, अध्यागमन प्रक्रियाका झन्झट तथा श्रमिकसँग प्रत्यक्ष सरोकार राख्ने अन्य व्यवहारिक समस्याको समाधान गर्न माग गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा मञ्चका प्रथम उपाध्यक्ष अफसर अलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शेषराज तिमिल्सिनाले गरेका थिए । समारोहमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

अधिवेशनको बन्द सत्रबाट अफसर अलि खान (मोरङ)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा शेषराज तिमिल्सिना (पर्वत), सचिवमा रघुनाथ (पर्वत), उपसचिवमा नीराजन गौतम (बागलुङ) तथा सदस्यमा निरन नेपाल (सङ्खुवासभा), गोपाल खतिवडा (सुनसरी), सुदर्शन भण्डारी (नुवाकोट), प्रेम कुमार बस्नेत (सुनसरी), सुदीप भित्रीकोटी (मोरङ), डोलेन्द्र बि.क. (झापा), तैकिर आलम (महोत्तरी), मो. असलम साफी (धनुषा), श्यामप्रसाद पाण्डे (पर्वत), लोकेन्द्र सिग्देल (स्याङ्जा), भेष गुरुङ (कास्की), संजोक गौतम (स्याङ्जा), आनन्द जिसी (पर्वत) र समुन्द्र खड्का (प्युठान) चयन भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर