
दोहा, कतार : कतारमा रहेका नेपाली संगीतप्रेमीमाझ बहुप्रतीक्षित सांगीतिक प्रस्तुति दिन चर्चित नेपाली ब्याण्ड ‘केहार एन्ड द लुङ्गा’ बिहीबार दिउँसो दोहा आइपुगेको छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम संयोजक रोशन अर्याल सहित क्लब व्यवस्थापनका पदाधिकारीहरू, सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा अन्य विभिन्न व्यक्तित्वहरूले कलाकारहरूको स्वागत गरेका थिए ।
आयोजकका अनुसार कार्यक्रम शुक्रवार राति ८ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुनेछ भने दर्शक प्रवेशका लागि साँझ ६ बजेदेखि गेट खुला गरिनेछ । कलाकारको आगमनसँगै प्राविधिक तयारी तथा सम्पूर्ण कार्यक्रम व्यवस्थापनको काम पूरा भएको आयोजकले जनाएको छ ।
नेपाली लाइभ ब्यान्डको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति रहने उक्त कार्यक्रममा ‘केहार एन्ड द लुङ्गा’ले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । आयोजकले यो अवसर नगुमाउन तथा कार्यक्रम समयमै सुरु हुने भएकाले सम्पूर्ण संगीतप्रेमी नेपालीहरूलाई बेलैमा कार्यक्रम स्थलमा उपस्थित भई प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न आग्रह गरेको छ ।