
बादल मडारिँदै छ आकाशमा दिन–प्रतिदिन
केवल आदर्शको बगरमा
हिँडिरहेको छ राष्ट्रिय झन्डा
किन आँसुका प्रत्येक थोपाहरूमा
भाकसुको भिरझैं खसिरहेको छ देश दिन–प्रतिदिन ?
डढेलोले खाएको सालका रुखजस्ता
हुँदै गइरहेछन् मान्छेहरू
किन खडेरीले खाएको सूर्यमुखीजस्ता
उदासीको गीत गाइरहेछन् नारायणगोपाल र शैलुङहरू ?
किन खुम्चिँदै–खुम्चिँदै
गएका हुन् रहरका भूगोलभित्र रहरहरू ?
म पढिरहेछु मेरो इतिहास
म खोजिरहेछु मेरो भविष्य
दिनदिनै गाउँ छोडिरहेछन् पर्वतहरू
रातारात
सहरबाटै हराइरहेछन् छेकुडोल्माहरू
आफैंलाई उतार्न नसकेर अक्षरहरूमा
कुकुरझैं मरिरहेछन् नवकिरणहरू
अचेल गाउँमा छैनन् गाउँहरू
समयको संगीन सडकमा, छैनन् सहरमा सहरहरू !
दिनरात इतिहासकै धरहराबाट हामफालेर
किन मर्दै छन् वर्तमानका भीमसेन थापाहरू ?
डलरको हरियो घाँसमा मोहित विवेकहरू
रेमिट्यान्स पठाइरहेछन् कि राता बाकसहरू ?
साथी, भो छोडिदिऊँ निराशाका कथाहरू
म जब हुन्छु आगोमा आगो
स्वयं कर्मको कर्णाली
अभावको पहिरोमा पनि
खसिरहेछ संकल्पको जून बनेर !