
प्रवेश
रिस, आवेग, घृणा, प्रेम आदि मानवीय संवेदना हुन् । त्यो शासक वर्गको होस् वा शासित, सबैमा हुन्छ । तर यो कसले कस्तो परिस्थितिमा अभिव्यक्त गर्छ भन्ने कुराले विशेष अर्थ राख्छ । समाजका सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्नो संवेगमाथि नियन्त्रण गर्न नसक्दा उसले मात्रै नभई सिंगो समाज तथा देशले नै यसको मूल्य चुकाउनु पर्ने हुन सक्छ ।
बालेनका अभिव्यक्ति र यसका सामाजिक प्रभाव
हाल नेपालका प्रधानमन्त्री रास्वपाबाट निर्वाचित वालेन्द्र शाह (बालेन) छन् । यी तिनै व्यक्ति हुन्, जो अघिल्लो चुनावमा काठमाडौँ महानगरपालिकाका मेयर पदमा निर्वाचित भएका थिए । त्यसभन्दा अघि उनी आफूलाई इन्जिनियर भन्थे र र्याप व्याटल गाउँथे । यो उनको निजी जीवन हो । यसबारे खोतल्नु त्यति आवश्यक छैन । हामी कुरा गरौं वालेन्द्र शाह (बालेन) स्वतन्त्र उम्मेदवारको रूपमा उठी कामपाका मेयर भएपछिको अर्थात् बालेनले सार्वजनिक पदधारण गरेपछिको ।
मेयरदेखि प्रधानमन्त्रीसम्म हुँदाका अभिव्यक्ति
१. पुराना दलको रवैयाबाट वाक्कदिक्क भएका जनताले शान्ति र सुविधाको आशा राखेर ३२–३३ वर्षका युवा बालेनलाई मेयर पदमा जिताएका थिए । सामाजिक सञ्जालको यो दुनियाँमा उनका निक्कै फ्यान फलोअर्स भएकाले उनले जे बोले पनि एकैछिनमा भाइरल हुन्थ्यो । युवाहरू उनीप्रति निक्कै प्रभावित थिए । आफ्ना कुराहरू सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने बालेनले आफ्नो पदीय मर्यादाको कम ख्याल गरी २०७९ चैत्र २४ मा फेसबुकमा पुराना नेताहरूलाई गाली गर्दै एउटा स्टाटस लेखे : ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ यसरी पुराना नेतालाई फोहोरमा डम्प गर्नु पर्ने भन्दै अपमानपूर्ण अभिव्यक्ति दिएर फोहोर नउठाउने अड्डी लिएका बालेन प्रशासन तथा महानगरले अदालतको आदेशपछि फोहोर उठाउन बाध्य भयो । यसले उनलाई विवादमा तानेको थियो ।
२. बालेनको अर्काे विवादास्पद स्टाटस हो – २०८० भदौ १६ गरे राती ९ः२१ बजेको । उक्त स्टाटसमा उनले सिंहदरबारमा आगो लागाउने धम्की दिएका थिए । त्यसदिन शनिबार थियो । उनकी श्रीमती सुत्केरी थिइन् । छोरीलाई स्वास्थ्यमा केही समस्या देखिएपछि श्रीमतीले छोरीलाई लिएर अस्पताल जाँदै गर्दा कोटेश्वरमा ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन सरकारी गाडी बिनापास चलाउन नहुने भन्दै चेकजाँच गर्न रोकेको थियो । चालकले ट्राफिकसँग कुरा गर्दा र जामको कारण २ मिनेट २० सेकेन्ड मात्रै गाडी रोकिएको तर ट्राफिक चेकिङको लागि जम्मा ४० सेकेण्ड मात्रै गाडी रोकिएको प्रहरीको दाबी थियो । उनी उक्त गाडीमा सवार थिएनन् तर आफ्नी श्रीमती र चालकको कुरा सुनेकै भरमा ‘आजको लागी केही भएन भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चो... सरकार’ भनेर धम्की दिएका थिए । यसको २ वर्षमा उनले भनेजस्तै २०८२ भदौको २३ र २४ गते जेनजी आन्दोलनको नाउँमा सिंहदरबार जलाइयो नै । होला उनले त्यसबेला आवेगमा आएर प्रतीकात्मक रूपमा सिंहदरबार जलाइदिन्छु भनेका होलान् तर यसको असर कस्तो पर्याे !, तपाईं हामीले देखि नै हाल्यौँ ।
पहिलो कुरा त सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो अमर्यादित बोल्नु नै गलत हो । अर्काे, जनताले सिधा रूपमा ग्रहण गर्ने हुँदा नेताले विम्ब, प्रतीकको प्रयोग गरेर बोल्नु घातक हुन पुग्छ । हो मान्छेको ज्यानभन्दा ठूलो ट्राफिकको नियम हुँदैन–हुनुहुँदैन तर नेताका छोराछोरीको मात्रै ज्यान अरूको चाहिँ ढुंगामाटो त होइन होला !
३. बालेन मेयर हुँदा आफूलाई राष्ट्रवादी देखाउन आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा झुन्ड्याएका थिए । जुन हास्यास्पद मात्रै हो । यस्तै उनले आफूलाई खुब राष्ट्रभक्त देखाउन भारतीय सिनेमा ‘आदिपुरुष’ लाई सीता भारतकी हुन् भन्ने आशयको संवाद भएकै कारण काठमाडौँ महानगरमा बन्देज गरेका थिए । २३ जुन २०२३ मा उनले ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालत अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।
यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भनेर राष्ट्रभक्त भएका मान्छेले प्रधानमन्त्री भएपछि २०८३ जेठ १७ मा संसदको रोस्ट्रममा उभिएर त्यसबेला ‘मैले प्रधानमन्त्री भएपछि पो बल्ल थाहा पाएँ । भारतले मात्रै होइन नेपालले पनि धेरै ठाउँ भारतको सीमा मिचेको रहेछ’ भन्दै किन बोलेको ? प्रधानमन्त्री भएपछि मात्रै कसरी थाहा पाए ? तथ्य जाँच नगरी आफ्नो पदीय हैसियतसमेत बिर्सेर चियापसलमा गफ गरे जसरी संसदको रोस्ट्रममा राष्ट्रघाती कुरा बोल्दा त्यो देशभक्तिपन त मरिसकेछ नि होइन र ? फेरि गल्ती स्वीकार्नुको सट्टा प्रवक्ता र परराष्ट्र मन्त्रालयबाट राष्ट्रघाती अभिव्यक्तिको बाचाउ गर्न किन लगाएको ?
४. बालेनले १ नोभेम्बर २०२५, शनिबार राति फ... अमेरिका, इन्डिया, चाइना, फ...एमाले, कांग्रेस, रास्वपा, राप्रपा, माओवादी भन्दै अश्लील शब्दमा स्टाटस लेखे । एउटा देशभक्त नेताले प्रदर्शन गर्ने संस्कृति यही हो त ? नेताले नै यस्तो अश्लील बोल्छ भने उसका फलोअर्सले नेताबाट कस्तो सभ्यता सिक्छन् ? यतिमात्रै होइन अहिले उनै बालेन रास्वपाको नेता मात्रै होइन त्यहीँबाट चुनाव जितेर प्रधानमन्त्री भएका छन् । अश्लील शब्दमा गाली गरेकै पार्टीमा जानु थियो भने किन गाली गर्नु !, स्वार्थ नमिल्दा गाली गर्ने अनि स्वार्थ मिल्दा त्यसैमा लिप्त हुने, यस्तो द्वैध चरित्र समग्र देशकै लागि घातक हुन सक्छ । अर्को कुरा पार्टीमा जानू हुँदैन, पार्टीमा लाग्ने झोले हुन्, मानिस स्वतन्त्र हुनुपर्छ भन्दै आम जनतालाई पार्टीप्रति घृणा जगाएर पछि आफैँ राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर प्रधानमन्त्री बन्ने ! यस्तै मेयर हुँदा भारतलाई अश्लील शब्दमा गाली गर्ने अनि प्रधानमन्त्री भएपछि भारतको प्रवक्ता जसरी ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भनी संसदको रोस्ट्रमबाट भन्ने अर्थात् आफ्नो देशलाई घाटा भए होस् तर भारतलाई खुसी बनाउनु पर्छ भने जसरी भारतकै पक्षमा बोल्ने बालेनको चरित्र अवसरवादी जस्तो देखियो । यसले उनको राजनीतिक जीवनमा नराम्रो असर पार्छ नै ।
५. बालेन प्रधानमन्त्री भएपछि उनी मेयर हुँदा नै चाहेको तर गर्न नसकेको काम पूरा गरे । त्यो काम हो सुकुम्वासी बस्तीमा डोजर लगाउने । प्रम बालेनले चाहेका भए सबै सुकुम्वासी बस्तीमा कोको सुकुम्वासी नै हुन् र कोको हुकुम्वासी नै हुन् भनी ३ दिनभित्रमै छानबिन गर्न सक्थे र वास्तविक सुकुम्वासीको पहिचान गरी सही व्यवस्थापन गर्न सक्थे । तर उनले त्यसो गरेनन् । २ दिने अल्टिमेटम दिएर सुकुम्वासी बस्तीमा भकाभक डोजर आतङ्क मच्चाए । कीर्तिपुरमा होल्डिङ सेन्टरमा राखियो । असारको बेला पानी आयो र सबै डुबायो । सुकुम्बासीको बेजोग भएको छ । यसको व्यवस्थापन गर्नुको सट्टा उक्त होल्डिङ सेन्टरमा पत्रकारलाई जान नदिने, पुलिस लगाएर धरपकड गर्ने जस्ता निन्दनीय काम गर्न थालेपछि त्यसको चर्को आलोचना भएको छ ।
६. प्रचण्ड प्रधानमन्त्री भएको बेला संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए । यसै प्रसंगमा २५ जनावरी २०२३ मा तत्कालीन कामपाका मेयर बालेन साहले यस्तो स्टाटस लेखेका थिए : ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’ यसरी प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुमा मुख्य दोषी राज्य र तत्कालीन सरकार भएको र सरकार पुरै असफल भयो भन्ने बालेन अहिले प्रधानमन्त्री छन् र उनी प्रम भएपछि थापाथलीका सुकुम्वासीपीडित १७ वर्षीय रविन तामाङ र बल्खुका सुकुम्वासी पीडित ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरे । त्यस्तै २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरे । अब ३ जनाले आत्महत्या गरिसकेपछि बालेनकै शब्द सापटी लिने हो भने उनको सरकार कसरी सफल भयो ? राज्यका हरेक तप्का, निकाय र अंगहरू पुरै असफल भएका छन् ।
७. यो सरकार जेनजी आन्दोलनको जगमा टेकेर बनेको सरकार हो । जेनजी विद्रोहमा बालेनले पूर्ण समर्थन गर्दै आन्दोलन गर्न २०८२ भदौ २२ मा यसरी लेखेका थिए : भोलीको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेनजी को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुडो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेनजी भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?’ मेयर बालेनले यसरी युवालाई तत्कालीन सरकारविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको भदौ २३ को आन्दोलनलमा आन्दोलन सुरु भएको २ घण्टामै १९ जना विद्यार्थीको हत्या भयो । २४ गतेसम्ममा ७२ जनभन्दा बढीको मृत्यु भयो । देशका कैयौं सरकारी भवन जलाइए, तोडफोड गरिए । सिंहदरबार, संसद भवन सबै जलाइयो । तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिए ।
८. यसपछि बालेनले २०८२ भदौ २४ मा जेनजीलाई सेनासँग वार्ता गर्न स्टाटस मार्फत नै आदेश दिएका थिए । उनले लेखे : ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् – वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’
यस स्टाटसमा उनले राजिनाम दिएका तत्कालीन प्रम केपी ओलीलाई जेनजीको हत्यारा भनी घोषणा नै गरे । त्यति मात्रै होइन उनले जेनजीका लिडरलाई आफ्नो देशमा राष्ट्रपति जिउँदै हुँदाहुँदै सेनासँग वार्ता गर्ने आदेश दिए र संसद विघटन गर्नैपर्ने अडान राखे । त्यसपछि भदौ २४ गते नै प्रधानसेनापति अशोकराज सिग्देलले ब्याकग्राउन्डमा पृथ्वीनारायण शाहको तस्बिर राखेर राष्ट्रको नाउँमा सम्बोधन गरे । यद्यपि देशमा सेनाको पनि परमाधिपति नेपालका राष्ट्रपति जीवितै थिए । यसरी बालेनले सेनासँग वार्ता गर्ने आदेश दिनु, सेनाले परमाधिपतिलाई वेवास्ता गरी आफैंले देश्को नाउँमा पूर्वराजाको तस्बिर राखेर सम्बोधन गर्नु जस्ता घटनाले बालेन शङ्काको घेरामा परेका थिए । यद्यपि उनले रास्वपा पार्टी प्रवेश गरे र चुनाव जितेर अहिले नेपालका प्रधानमन्त्री रहेका छन् ।
यसरी जेनजीको जगमा टेकेर प्रम बनेका बालेनले जेनजीहरूको माग पूरा गर्नु त परै जाओस् जेनजी घाइते र मृतकका आफन्तलाई समवेदनासमेत प्रकट गरेनन् । फुटपाथका व्यापारी र मगन्ताहरू, सुकुम्वासी, जेनेजीका घाइतेहरूलाई उनले सही व्यवहार गर्न सेकेनन् र उनीहरू बालेनप्रति बिस्तारै आक्रोशित बन्दै गएका छन् । तिनै जेनजी, सुकुम्वासी, फुटपाथका व्यापारीले उनलाई भोट दिएर जिताए आज उनीहरू नै सरकारविरुद्ध नराबाजी गर्दै सडकमा उत्रिरहेका गरेका छन् । यसले बालेनको नेतृत्व क्षमातामाथि नै प्रश्न खडा गरेको छ । उसो त उनी राजनीति पढेका र राजनीतिक पृष्ठभूमिका मान्छे होइनन् नै । उनीप्रति युवाहरूले जुन आशा गरेका थिए त्यो बिस्तारै सेलाउँदै घृणामा परिणत हुन थालेको देखिन्छ ।
निष्कर्ष
आजसम्मको बालेनको कार्यव्यवहार हेर्दा उनी आवेगमा आएर निर्णय गर्ने र आफ्नो जिद्दी नछोड्ने, सनकी जस्तो, भाँती पु¥याएर बोल्न र व्यवहार गर्न नजान्ने जस्तो, अपरिपक्व र अदूरदर्शी जस्तो देखिँदै आएको छ । यसले उनको राजनीतिक करिअरमा त नकारात्मक असर पार्छ नै अझ देशलाई एउटा भड्खालोमा हाल्ने हो कि भन्ने डर र चिन्ताको विषय बनेको छ । बालेनले आजसम्म स्पष्ट जवाफ दिएका छैनन् र जति दिएका छन् त्यसले कतै न कतै उनैलाई पनि हानी गरिरहेको छ । उनले आफूलाई समाजवादी कित्तामा उभ्याउने कि पुँजीवादी ! भन्ने स्पष्ट धारणा व्यक्त गरेका छैनन् । यद्यपि आजसम्मको क्रियाकलाप हेर्दा उनी पुँजीवादको एउट अंश जस्तो बनेका छन् । बालेन साहको मनमा नेपाललाई बिगार्छु, भत्काउँछु, दलाल पुँजीवादको कठपुतली बनाउँछु, उत्पीडित वर्गलाई झन् उत्पीडनमा पार्छु भन्ने कुनियत छैन होला । उनी सम्पूर्ण देश र जनताको भलो नै सोच्छन् होला तर उनले बसालेको जवाफदेही नहुने संस्कृति, एकोहोरो र बहुलट्ठीपना, गरिबप्रतिको घृणापूर्ण व्यवहार, विवादमा पर्ने र भड्काउवाला अभिव्यक्तिले जनताको नजरमा उनलाई खराब चरित्र जस्तो बनाएको छ । यसले समाजमा सुव्यवस्था कायम हुनुको सट्टा अतिवाद मौलाउने र देशलाई नै दुर्घटनामा पार्ने खतरा बढ्न सक्छ ।