
सिरहा : मधेश प्रदेशको प्रमुख कृषि जिल्ला सिरहामा यस वर्ष धान रोपाइँ उल्लेखनीय रूपमा अगाडि बढेको छ । जिल्लाभर करिब ५४ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म ४३ हजार २०० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअनुसार जिल्लामा करिब ८० प्रतिशत धान रोपाइँ पूरा भएको छ ।
कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदिप खनालका अनुसार अनुकूल मौसम र किसानहरूको सक्रियताका कारण रोपाइँले तीव्र गति लिएको हो । उनका अनुसार बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यस वर्ष विशेषगरी मोटर तथा पम्पसेटजस्ता सिँचाइका वैकल्पिक साधनको प्रयोग उल्लेख्य रूपमा बढेको छ । वर्षा अनियमित हुँदा किसानहरूले आकाशे पानीमा मात्र निर्भर नरही भूमिगत पानीको प्रयोग गर्दै समयमै रोपाइँलाई निरन्तरता दिएका छन् ।
बरियारपट्टी गाउँपालिका–३ का स्थानीय राजेन्द्र यादवका अनुसार अधिकांश किसानहरूले मोटर वा पम्पसेटमार्फत सिँचाइ गरेर धान रोपाइँ गरेका छन् । पानीको अभाव हुँदा पनि मोटरको प्रयोगले रोपाइँ सहज भएको उनले बताए ।
सिरहाका विभिन्न स्थानमा किसानहरूले व्यक्तिगत तथा सामूहिक रूपमा मोटर जडान गरी खेतमा पानी पु¥याइरहेका छन्, जसले रोपाइँलाई समयमै सम्पन्न गर्न सहयोग पुगेको छ ।
यद्यपि, केही क्षेत्रमा अझै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको गुनासो किसानहरूले गरेका छन् । सिँचाइ सुविधा नपुगेका स्थानका किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन् ।
धान सिरहाको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस वर्ष रोपाइँको प्रगति उत्साहजनक रहेकाले धान उत्पादन पनि राम्रो हुने अपेक्षा कृषि ज्ञान केन्द्रले गरेको छ ।