२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बढ्दो आपराधिक मानसिकताले घरै असुरक्षित

Nada
सपना बोहरा
२०८३ जेठ २५ गते ०६:२०
Shares
बढ्दो आपराधिक मानसिकताले घरै असुरक्षित

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैंयुटारमा घरायसी विवादका क्रममा एक व्यक्तिले शुक्रबार राति श्रीमतीको हत्या गरे । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको निर्मम हत्या गरेका थिए । मध्यराति १० बजेर १० मिनेटमा इट्टा, ढुंगा र धारिलो हतियार प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 

ncell

घटना थाहा पाएलगत्तै छिमेकी र आफन्तले ईश्वरीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरे । घरायसी विवाद बढ्दै गएर हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई बताउँछन् । 

प्रहरीका अनुसार ईश्वरीले कुमारविरुद्ध प्रहरी वृत्त बालाजुमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरीमाथि अनुसन्धान गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरेको थियो । सो मुद्दा अदालतमा चलिरहँदा प्रहरी वृत्त बालाजुले उनीहरूबीच मिलापत्र पनि गराएको थियो । सोहीबीचमा भुजेलको हत्या भयो । 

त्यस्तै, पारिवारिक विवादकै कारण दैलेखमा बाबुले आफ्नै छोराको हत्या गरे । नारायण नगरपालिका–९ सालखर्कका मंगलबार राति ७० वर्षीय कविराज थापाले ४५ वर्षीय छोरा यादव थापाको धारिलो हतियार (खुर्पा) प्रहार गरी हत्या गरेका हुन् । मदिरा सेवनपछि भएको भनाभनले हिंसात्मक रूप लिँदा दुःखद घटना भएको हो । प्रहरीका अनुसार दुवैजनाले मदिरा सेवन गरेको अवस्थामा विवाद चर्किंदै गएको र रिसको आवेगमा कविराजले छोरामाथि खुर्पा प्रहार गरेका थिए । गम्भीर घाइते भएका यादवलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल दैलेख लगिए पनि चिकित्सकले अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको घोषणा गरे । 

त्यस्तै, दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा गत जेठ १६ गते २० वर्षीया रोमा भनिने रमा तिवारीको शव बोरामा भेटियो । सो घटना अनुसन्धानका लागि प्रहरीले भारत बिहार घर भई दमक बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डितलाई नियन्त्रणमा लिएको छ । झापा प्रहरी प्रमुख बसुन्धरा खड्काका अनुसार, टायल्स मिस्त्री पण्डित र रमाको पैसाको विषयमा विवाद भएको थियो । जेठ १३को साँझ भएको विवादका क्रममा रमाले प्रहरीलाई भन्ने बताएपछि डरले घाँटी थिचेर उनको हत्या गरेको बयान आरोपितले दिएका छन् । मूल सडकबाट भित्र बाँसघारीमा लगेर हत्या गरेपछि पाइपले घाँटीमा कसेर बोरामा बाँधी खोलामा फ्याँकेको उनले स्वीकार गरेका छन् । 

पछिल्लो एक हप्ताभित्र भएका यी तीन जघन्य अपराधका घटनाले आमनेपालीको ध्यान खिच्यो । यसले समाजमा आपराधिक मानसिकता बढ्दै गएको उजागर भएको छ ।

घटना घटेपछि प्रहरी अनुसन्धानमा खटिने, दोषी पक्राउ पर्ने र कानुनी प्रक्रिया अघि बढ्ने क्रम नियमित भए पनि अपराध हुनुअघि रोकथामका उपाय किन प्रभावकारी हुन सकेनन् भन्ने प्रश्न उठ्न थालेको छ । 

नेपाल प्रहरीका अनुसार पछिल्लो १० महिनामा मात्रै ४२९ जनाको हत्या भएको छ । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/०८२मा ५२२ जना तथा ०८०/०८१मा ६३८ जनाको हत्या भएको थियो ।

समाजशास्त्री विद्या भट्टराई राज्य संरचनामा परिवर्तन र समाजमा हुने द्वन्द्वले व्यक्तिलाई प्रभावित पारिरहने बताउँछिन् । ‘कुनै पनि व्यक्ति जन्मँदै अपराधी हुँदैन । उसले हुर्कने वातावरण, पारिवारिक अवस्था, सामाजिक सम्बन्ध, आर्थिक परिस्थिति, शिक्षा, मानसिक स्वास्थ्य तथा संगतले उसको व्यवहार निर्माण गर्छ,’ उनले भनिन्, ‘त्यसैले जघन्य अपराधलाई व्यक्तिगत कारण मात्र नभएर सामाजिक समस्याका रूपमा पनि हेर्नुपर्छ ।’

मानवअधिकारकर्मी मोहना अन्सारी समाज मानसिक रोगीहरूले भरिइसकेको बताउँछिन् । उनी भन्छिन्, ‘कतिपय त्यस्ता रोगीहरूको चर्को स्वरमा समाजले पनि साथ दिइरहेको उनी बताउँछिन् । ‘नेपाली ब्रो’ नामले चिनिने कुमारको सामाजिक सञ्जालका फलोअर र भ्युज हेर्न आग्रह गर्दै उनी भन्छिन्, ‘विश्लेषण गरौं, हामीले खोजेको कस्तो समाज हो ?’ 

सिधै मार्छु, काट्छु, तेरो परिवार सकाइदिन्छु भनेर धम्की दिनेहरू अदालतको प्रांगण र प्रहरीको गेटमा दिनहुँ भेटिने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘प्रहरी भन्छ– प्रमाण के छ ? परिवार भन्छ– एक मौका देऊ । समाज भन्छ– मिलेर बस । यही कारण पीडितहरू आफूलाई बचाउन सक्दैनन् ।’ 

अपराधको अध्ययन गर्ने चलन छैन

अधिकांश जघन्य अपराधका घटनामा अपराधी र पीडितबीच पहिलेदेखि चिनजान, पारिवारिक सम्बन्ध वा कुनै न कुनै प्रकारको विवाद रहेको तथ्य अनुसन्धानबाट खुल्ने गरेको छ । यसले धेरै अपराध अचानक नभई लामो समयदेखि विकसित हुँदै आएको तनाव, असन्तुष्टि र द्वन्द्वको परिणाम भएको प्रहरीको अनुसन्धानमा देखाउँछ । तर, अपराध नियन्त्रणको संरचना मुख्यतः घटना भइसकेपछिको अनुसन्धान र कारबाहीमा केन्द्रित छ । 

पूर्वडिआइजी हेमन्त मल्ल भने नेपालमा अपराधको अध्ययन गर्ने चलन नै नभएको बताउँछन् । ‘विदेशतिर अपराधको अध्ययन गरिन्छ, अध्ययन गरेपछि कारण थाहा हुन्छ, अनि अपराधको नियन्त्रण, न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘समाज किन आपराधिक भइरहेको छ ? घर किन असुरक्षित भएको छ ? सरकारले अध्ययन गर्न जरुरी छ ।’ 

दिनदिनै अपराध बढ्नुमा वैदेशिक रोजगार, सामाजिक सञ्जाल, सहनशीलता हराउँदै जानु वा नैतिक शिक्षाको अभाव के हो अध्ययन गर्नुपर्ने उनी बताउँछन् । सरकारले सबैभन्दा पहिले समाज असुरक्षित बन्दै जानुको कारण पत्ता लगाउनुपर्ने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर