
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहँदै आएका प्रतिवादीहरूलाई पक्राउ गर्ने कार्यमा सक्रियता बढाएको छ । प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत मंगलबार मात्रै विभिन्न मुद्दाका १० जना फरार व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइहरूबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा बैंकिङ कसूर, मुद्रा सम्बन्धी कसूर, डाँका तथा चोरी र चेक अनादर मुद्दाका प्रतिवादीहरू रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर मुद्दाका ६ जना रहेका छन् । यस्तै डाँका तथा चोरी मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना ठहर भएका परोहा नगरपालिका–२ का जयराम राय यादव पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा मुद्रा सम्बन्धी कसूरका कटहरिया नगरपालिका–२ का शेख सदाम ४ महिना कैद, बैंकिङ कसूरका चन्द्रपुर–८ का महेश कुमार चौधरी र चेक अनादर मुद्दाका विभिन्न व्यक्तिहरू रहेका छन् । पक्राउ परेका १० जना प्रतिवादीहरूबाट कुल १ वर्ष ४ महिना २८ दिन कैद सजाय र २१ हजार ८ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै सम्मानित रौतहट जिल्ला अदालत गौरमा बुझाइएको छ ।
‘समाजमा दण्डहीनता अन्त्य गर्न र कानुनी राज्यको अनुभूति गराउन फरार प्रतिवादी पक्राउ अभियानलाई हामीले प्राथमिकतामा राखेका छौँ’, डीएसपी गौतमले भने ।