
उदयपुर : उदयपुरमा जुवा खेलिरहेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२ फूलचोकस्थित एक घरबाट शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार स्थानीय महेन्द्र चौधरीको घरमा जुवा (कौडा) खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलबाट नगद १ लाख ८२ हजार ३८२ रुपैयाँ, १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरीसहित चिरन राई, जितन राई, तिलक राई, जगदीश राई, नविन तामाङ, वसन्त राई, नारायण पौडेल, रविन्द्र राई, हेमन्त राई र रुद्र बहादुर परियार रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।