२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

विवाद सामान्य, अपराध जघन्य

Nada
सपना बोहरा
२०८३ जेठ १५ गते ११:५२
Shares
विवाद सामान्य, अपराध जघन्य

काठमाडौं : ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान पूरा गरेको छ । चैत २५ गते सुमित नेम्वाङ र सृजन नेम्वाङको हत्या भएको घटनाको अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

ncell

झापाको कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र २५ वर्षीय सृजन नेम्वाङको हत्या आरोपमा प्रहरीले सञ्जीव नेपालीलाई पक्राउ गरेको थियो । मृतक सहोदर दाजुभाइ हुन् । पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका नेपालीले उनीहरूलाई छुरा प्रहार गरेर हत्या गरेका थिए ।

गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको एसएसपी बोगटीले बताए । उनका अनुसार आरोपीविरुद्ध जन्मकैदको मागदाबी लिनुपर्ने राय दिइएको छ ।

घटना हुँदा सञ्जीवसँगै रहेका नवलपरासीका २१ वर्षीय गगन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी ललितपुर–८ स्थित सुबहालमा बस्छन् । प्रहरीले गगनलाई मतियारको भूमिकामा कैद सजायको मागदाबी गर्नुपर्ने राय दिएको छ ।

फोन डायल गर्दा भएको सामान्य त्रुटिबाट सुरु भएको विवादले अन्ततः दाजुभाइको ज्यान लियो । बोगटीका अनुसार सुमित नेम्वाङले डायल गरेको नम्बर गलत भएर सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो । त्यसपछि उनीहरूबीच फोनमै अभद्र संवाद भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार गलत नम्बर डायल गर्ने व्यक्तिले पटक–पटक फोन गरेर अर्को पक्षलाई दुःख दिएको देखिएको एसएसपी बोगटीले बताए ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरपरिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको पेटमा गहिरो चोट लागेको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । पारिवारिक स्रोतका अनुसार नेम्वाङ दाजुभाइ केही समयपछि लन्डन जाने तयारीमा थिए । उनीहरूकी आमा हाल लन्डनमा बस्दै आएकी छन् ।

त्यस्तै, वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा साथीहरूबीच भएको विवादले उग्र रूप लिँदा धारिलो हतियार प्रहारबाट गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पामा बस्ने २२ वर्षीय विपिन घिमिरेको ज्यान गएको थियो ।

घिमिरेमाथि दिउँसो करिब साढे २ बजे आफ्नै साथीले हतियार प्रहार गरेका थिए । प्रहारपछि उनी भुइँमै ढलेका थिए । अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै उनको मृत्यु भइसकेको थियो ।

घिमिरे हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको थियो । घटनामा शाहीसहित ६ जना संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार छुरा प्रहार गर्ने व्यक्तिहरू चिनजानकै थिए र आपसी रिसइबीका कारण हत्या गरिएको हो ।

पछिल्लो समय सामान्य विवाद र भनाभनकै कारण ज्यान जाने घटनाहरू बढिरहेका छन् । परिचित वा अपरिचित व्यक्तिहरूले सार्वजनिक स्थानमै सामूहिक रूपमा आक्रमण गरेर हत्या गर्ने प्रवृत्ति देखिन थालेको छ ।

नेपाल प्रहरीका अनुसार पछिल्लो १० महिनामा मात्रै ४२९ जनाको हत्या भएको छ । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/०८२मा ५२२ जना तथा ०८०/०८१मा ६३८ जनाको हत्या भएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले पछिल्लो समय सामान्य विवादमा समेत सामूहिक आक्रमणको प्रवृत्ति बढ्दै गएको बताएका छन् । उनका अनुसार मादकपदार्थ सेवन र लागुऔषधको दुरुपयोगले अपराध बढाउन भूमिका खेलेको छ ।

उनी भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग र आवेग नियन्त्रण गर्न नसक्नु अपराध बढ्नुका मुख्य कारण हुन् । अधिकांश जघन्य अपराध तथा हत्या पूर्वनियोजित भन्दा पनि क्षणिक आवेग, व्यक्तिगत विवाद, पारिवारिक समस्या र मानसिक तनावका कारण हुने गरेका छन् ।’

ताजा खबर

सम्बन्धित खबर