
काठमाडौं : नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र राजनीतिक चेतनाको इतिहासमा नेपाली कांग्रेसको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । प्रजातन्त्रका लागि भएका संघर्षदेखि लोकतान्त्रिक मूल्य र संस्थागत व्यवस्थाको स्थापनासम्म कांग्रेसले निर्वाह गरेको जिम्मेवारी इतिहासमा स्पष्ट रूपमा दर्ज छ । तर विडम्बना, आज त्यही पार्टी आन्तरिक कलह, गुटगत प्रतिस्पर्धा, सार्वजनिक आरोप–प्रत्यारोप र नेतृत्वप्रतिको असन्तुष्टिका कारण चुनौतीपूर्ण मोडमा उभिएको देखिन्छ । यसले केवल कार्यकर्ता मात्र होइन, आमनागरिकलाई समेत चिन्तित बनाएको छ ।
लोकतान्त्रिक दलभित्र विचार फरक हुनु अस्वाभाविक होइन । नेतृत्वको आलोचना हुन सक्छ, सुधारको माग उठ्न सक्छ, नयाँ पुस्ताले अवसर खोज्न सक्छ । यी सबै लोकतन्त्रका स्वाभाविक अभ्यास हुन् । तर जब असन्तुष्टि संवादभन्दा बढी सार्वजनिक विवादमा बदलिन्छ, जब बहस नीति र विचारभन्दा बढी व्यक्ति केन्द्रित हुन्छ, तब त्यसले संगठनलाई कमजोर बनाउँछ । अहिले कांग्रेसभित्र देखिएको समस्या यही हो ।
सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म नेताहरू एकअर्कामाथि प्रहार गरिरहेका दृश्य सामान्य बन्दै गएका छन् । यस्ता गतिविधिले पार्टीभित्र रचनात्मक बहसको वातावरण निर्माण गर्नुको सट्टा अविश्वास, निराशा र विभाजनको भावना बढाइरहेका छन् । कार्यकर्तामा अन्योल बढेको छ भने जनतामा पार्टीप्रतिको भरोसा कमजोर बन्दै गएको छ ।
राजनीतिमा प्रतिस्पर्धा आवश्यक हुन्छ, किनकि प्रतिस्पर्धाले नेतृत्व र विचारलाई परिष्कृत बनाउँछ । तर अस्वस्थ प्रतिस्पर्धा भने संगठन विघटनको कारण बन्छ । नेतृत्व प्राप्त गर्ने आकांक्षा स्वाभाविक हो, तर त्यो आकांक्षाले पार्टी नै कमजोर बनाउने अवस्था सिर्जना गर्नु घातक हुन्छ । सार्वजनिक रूपमा एकअर्कालाई कमजोर देखाउने, कार्यकर्तालाई विभाजित गर्ने वा व्यक्तिगत महत्वाकांक्षालाई संगठनभन्दा माथि राख्ने प्रवृत्तिले दीर्घकालीन रूपमा कसैलाई पनि लाभ पुर्याउँदैन ।
आज कांग्रेसभित्र सबैभन्दा आवश्यक कुरा दोषारोपण होइन, स्पष्ट ‘वे–फरवार्ड’ हो । जनताले कांग्रेसबाट झगडा होइन, दिशा खोजिरहेका छन् । कार्यकर्ताले निरन्तरको विवाद होइन, आशा र भरोसा खोजिरहेका छन् । देशले अस्थिरता होइन, जिम्मेवार लोकतान्त्रिक शक्ति खोजिरहेको छ । यस्तो अवस्थामा पार्टीभित्रको असन्तुष्टि समाधान गर्ने थलो सामाजिक सञ्जाल वा सार्वजनिक मञ्च होइन, संगठनात्मक संरचना हुनुपर्छ । छलफल, समीक्षा, आत्मआलोचना र सुधारको प्रक्रिया संस्थागत ढंगले अघि बढ्नुपर्छ ।
यदि कसैलाई नेतृत्वप्रति असन्तुष्टि छ भने त्यो वैचारिक र प्रक्रियागत रूपमा उठ्नुपर्छ । ‘को कसलाई हराउने’ भन्ने सोचभन्दा ‘पार्टीलाई कसरी बलियो बनाउने’ भन्ने चिन्तन प्रधान हुनुपर्छ । लोकतान्त्रिक संस्कारको वास्तविक अर्थ पनि यही हो– विचारमा प्रतिस्पर्धा गर्ने, तर संगठन र प्रणालीलाई कमजोर नपार्ने ।
१५औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको तिक्तता अझ बढ्न सक्ने संकेत देखिन्छ । तर यही समयलाई कांग्रेसले आत्मसमीक्षा र रूपान्तरणको अवसरका रूपमा पनि उपयोग गर्न सक्छ । यदि नेताहरूले व्यक्तिगत अहंकारभन्दा संगठनलाई माथि राख्न सके, यदि कार्यकर्ताले गुटभन्दा विचारलाई प्राथमिकता दिए, यदि आलोचना स्वस्थ सीमाभित्र रह्यो भने आगामी महाधिवेशन कांग्रेसका लागि नयाँ ऊर्जा र नयाँ दिशा बन्न सक्छ ।
अन्यथा, निरन्तरको आन्तरिक कलहले पार्टीलाई कमजोर बनाउनेछ र त्यसको लाभ कांग्रेसबाहिरका शक्तिहरूले उठाउनेछन् । लोकतन्त्र कमजोर हुँदा कुनै एक नेता मात्र हार्दैन, समग्र प्रणाली नै कमजोर हुन्छ । त्यसैले आज कांग्रेस एउटा गम्भीर मोडमा उभिएको छ– आन्तरिक संघर्षमै अल्झिरहने कि आत्मसमीक्षा गरेर पुनः जनताको भरोसाको केन्द्र बन्ने ?
अबको बाटो स्पष्ट हुनुपर्छ । विगत भइसकेको विशेष महाधिवेशनको विषय वा नेतृत्व परिवर्तनको विषय, ती सबै विषय पार्टीको एकता, संस्थागत प्रक्रिया र लोकतान्त्रिक संस्कारभित्र समाधान खोज्ने दिशामा केन्द्रित हुनुपर्छ । निरन्तर दोषारोपणभन्दा संगठन सुदृढीकरण, नीति स्पष्टता र जनविश्वास पुनःस्थापना अहिलेको प्राथमिकता बन्नुपर्छ ।
किनकि अन्ततः जित कुनै एक व्यक्तिको होइन, लोकतान्त्रिक प्रणालीको हुनुपर्छ । र, प्रणाली बलियो बनाउन सबैभन्दा पहिले पार्टीभित्र संयमता, परिपक्वता र एकता आवश्यक हुन्छ । नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र जोगाउने भूमिका खेलेको थियो, अब समय आएको छ, त्यसै लोकतान्त्रिक संस्कारलाई आफ्नै संगठनभित्र पुनर्जीवित गर्ने ।