
काठमाडौं : देशभरका न्यायलयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कारबाहीको दायरामा आएका छन् । कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत मुद्दामा फरार रहेका २ हजार ३१९ प्रतिवादी पछिल्लो एक महिनामा पक्राउ परेका छन् । नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको तथ्यांकअनुसार गत वैशाख महिनामा मात्रै ठुलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन् भने उनीहरूबाट २१ करोडभन्दा बढी जरिवाना असुल भएको छ ।
पक्राउ परेका प्रतिवादीहरूबाट ८२५ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले बताए । ‘अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका २ हजार ३१९ प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं,’ उनले भने, ‘लामो समयदेखि कानुनी प्रक्रियालाई छलेर फरार रहेका अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष अप्रेसन नै चलाएको छौं ।’
काफ्लेका अनुसार ती प्रतिवादीबाट २१ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ । सोही अवधिमा प्रहरीले अवैध हातहतियार मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी २९ थान अवैध हतियार र गोलीसमेत बरामद गरेको छ ।
प्रदेशगत अवस्था
पक्राउ पर्ने फरार अभियुक्तहरूमा सबैभन्दा बढी मधेश प्रदेशबाट ७३० जना र काठमाडौं उपत्यकाबाट ३६६ जना रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार लुम्बिनी प्रदेशबाट ३३० जना, कोशी प्रदेशबाट ३२६ जना, गण्डकी प्रदेशबाट २०४ जना, बागमती प्रदेशबाट १९९ जना, सुदूरपश्चिम प्रदेशबाट ८४ जना, कर्णाली प्रदेशबाट ६८ जना र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीबाट १२ जना पक्राउ परेका छन् ।
प्रहरीले यी प्रतिवादीबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना समेत असुलउपर गरेको जनाएको छ । त्यस्तै, कुल ८२५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले बताएको छ ।
अहिले प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर र ठगीलगायत मुद्दामा फैसला ठहर भएकाहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइरहेको प्रवक्ता काफ्लेको दाबी छ ।
उनका अनुसार वैशाख महिनामा मात्र देशभरबाट अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशबाट ३÷३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १–१ जना रहेका छन् ।
पक्राउ परेका हतियारधारीको साथबाट प्रहरीले कुल २९ थान अवैध हातहतियार बरामद गरेको छ । जसमा २१ थान भरुवा बन्दुक, २ थान कटुवा पेस्तोल, २ थान एयरगन, १ थान चिनियाँ पेस्तोल, १ थान सामान्य पेस्तोल, १ थान रिभल्वर र १ थान अन्य बन्दुक रहेका छन् ।
हतियारका साथै उनीहरूको ओसारपसार र भण्डारणबाट एसएलआरको २६३ राउन्ड गोली, विभिन्न बन्दुकमा लाग्ने ७० राउन्ड गोली र चिनियाँ पेस्तोलको १ राउन्ड गोलीसमेत बरामद भएको छ । विशेष अभियान चलाएको प्रहरीले फरार प्रतिवादीलाई कैद भुक्तानका लागि आफैं आउनसमेत आग्रह गरेको छ ।
कानुनलाई कुल्चेर फरार सूचीमा रहेका प्रतिवादीलाई प्रहरी देशभर पक्राउ अभियान चलाएको छ भने कतिपय ठुला फौजदारी मुद्दाका अभियुक्तलाई रेडकर्नर नोटिससमेत जारी गरेर नेपाल झिकाउने प्रक्रियामा रहेको नेपाल प्रहरीले दाबी गरेको छ ।