२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पचपन्न वर्षदेखि सारंगी रेट्दै रामबहादुर

Nada
२०८१ साउन २३ गते ११:५८
Shares
पचपन्न वर्षदेखि सारंगी रेट्दै रामबहादुर

गण्डकी : पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे । उनले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । गन्दर्भ समुदायमा सारंगी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका छन् ।

ncell

पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुुगेको उनले बताए । “गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ”, उनले भने, “पछिल्लो पुुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।”

परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी -याइँ-याईं सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पूख्र्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्दर्भहरु सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो ।

बाउबाजे कास्कीकै बडहरेबाट छुुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे ।

गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गरे । आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनी बताउछन् । सारंगीलाई गन्दर्भ समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उनले भने ,  “गन्दर्भ समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नुु है भन्दै आएका छन् ।”

जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उनले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताए । “यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो”, उनले भने, “त्यस समयमा गन्दर्भहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।”

बाँकी जीवन यही पेसामा समर्पित गर्ने उनको रहर छ । नयाँ पुुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ  । 

सम्बन्धित खबर