
काठमाडौं : जमिअत उलेमाए नेपालद्वारा सञ्चालन गरिएको 'शैक्षिक जागरण अभियान' देशभर तीव्र रूपमा अघि बढिरहेको छ । अभियानअन्तर्गत विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम, बैठक र र्यालीहरू आयोजना गर्दै शिक्षा प्रति जागरण फैलाउने कार्यलाई तीव्रता दिइएको छ ।
यसैक्रममा रौतहटको गुजरा माई नगरपालिकामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा बालबालिकाका लागि अनिवार्य शिक्षाको आवश्यकता र यसको महत्त्वबारे व्यापक रूपमा जानकारी गराइएको थियो । सहभागीहरूले शिक्षा नै व्यक्तिको सफलताको आधार भएको उल्लेख गर्दै अभिभावक र समुदायलाई बालबालिकाको शिक्षामा विशेष ध्यान दिन आग्रह गरेका थिए । सो अवसरमा धार्मिक अगुवा, शिक्षक तथा स्थानीय राजनीतिक व्यक्तित्वहरूको सहभागितामा जनचेतनामूलक र्यालीसमेत निकालिएको थियो ।
त्यसैगरी सिरहा जिल्लाको गोलबजारस्थित मस्जिद अबु बकरमा 'शैक्षिक जागरण अभियान' विषयक जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाभरिका उलेमा, मस्जिदका इमाम, मदरसा सञ्चालक तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय नेतृत्वको सहभागिताले अभियानलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

बैठकमा वक्ताहरूले नेपालका मुस्लिम समुदायमा देखिएको शैक्षिक पछौटोपन र अशिक्षालाई गम्भीर चुनौतीका रूपमा औंल्याउँदै यसले समग्र सामाजिक विकासमा असर पारेको बताएका थिए । उनीहरूले शिक्षा व्यक्तिगत मात्र नभई समाजको समग्र प्रगतिका लागि अपरिहार्य रहेकोमा जोड दिँदै हरेक बालबालिकासम्म शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा धार्मिक तथा आधुनिक शिक्षाको सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै युवापुस्तामा बढ्दो नैतिक विचलनप्रति चिन्ता व्यक्त गरिएको थियो । साथै, शैक्षिक जागरण अभियानलाई गाउँ–गाउँ र घर–घरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बैठकले 'शिक्षा हरेक व्यक्तिको मौलिक अधिकार हो' भन्ने सन्देश प्रवाह गर्दै कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित राख्न नहुने निष्कर्ष निकालेको छ । साथै मदरसाहरूको व्यवस्थापन र दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सरकारसँग स्पष्ट नीति निर्माणको मागसमेत गरिएको छ ।