२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रौतहटमा भन्सार छलीका सामान बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १० गते २१:२४
Shares
रौतहटमा भन्सार छलीका सामान बरामद

रौतहट : रौतहट प्रहरीले भन्सार प्रक्रिया छल्दै भित्र्याइएका ठुलो परिमाणका खाद्यान्न र इन्धन बरामद गर्दै एक जना चालकलाई नियन्त्रणमा लिएको छ । जिल्लाका मौलापुर र परोहा नगरपालिका क्षेत्रबाट बिहीबार करिब २४ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान फेला पारिएको प्रहरीले जनाएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको विशेष गस्ती टोलीले दिउँसो करिब ३ बजेतिर मौलापुर नगरपालिका–३ स्थित सडकमा शंकास्पद अवस्थामा रहेको ज १ च १३४३ नम्बरको पिकअप भ्यान रोकेर जाँच गरेको थियो । जाँचका क्रममा उक्त सवारीमा भन्सार छली गरी ल्याइएको २ हजार ९ सय किलो तोरी र ३ सय ५० किलो सरसो भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बरामद खाद्यान्नको अनुमानित बजार मूल्य ३ लाख ९० हजार रुपैयाँ रहेको छ भने प्रयोग गरिएको पिकअप भ्यानको मूल्य करिब २० लाख रुपैयाँ आकलन गरिएको छ । यस घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–७ निवासी २५ वर्षीय चालक पवन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, परोहा नगरपालिका–७ क्षेत्रमा प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ४५ लिटर डिजेल पनि बरामद गरेको छ। दुईवटा जर्किनमा राखिएको उक्त डिजेलको मूल्य करिब १० हजार ५ सय रुपैयाँ रहेको जनाइएको छ ।

सोही क्रममा भारतीय नम्बर प्लेटको बीआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको छ ।

प्रहरी नायब उपरीक्षक प्रदीप बस्यालका अनुसार पक्राउ परेका चालक, बरामद सवारीसाधन तथा सामग्रीलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित खबर