काठमाडौं : नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित तथा संरक्षण समितिको शनिबार नुवाकोट ककनीमा बसेको बैठकले ककनी प्रतिवद्धतापत्र जारी गरेको छ । समितिका संयोजक गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा बसेको बैठक एवं ‘साना लगानीका सञ्चारमाध्यमहरुको प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा विभिन्न विषयमा प्रतिवद्धतापत्र जारी गरिएको हो ।
बैठकमा स्थानीय तहबाट स्थानीय तहमा रहेका साना लगानीका पत्रपत्रिकालाई सम्बद्र्धन गराउन, सरकारले पत्रपत्रिकालाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनलाई दोब्बर गराउन, स्थानीय तह र प्रदेश तहमा बन्ने ऐन नियम साना लगानीका पत्रपत्रिका प्रवद्र्धन गराउने प्रतिवद्धता भएको छ ।
यस्तै बैठकले दीर्घकालिन ऐन, नीतिहरु जारी नहुन्जेल केन्द्रीय तहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी साना लगानीबाट सञ्चालित मिडियालाई उचित विज्ञापनको व्यवस्थपान गराउन, समानुपातिक विज्ञापन प्रणालीको तत्काल कार्यान्वयन गराउने प्रतिवद्धता भएको साना लगानी मिडिया हकहित तथा संरक्षण समितिले बताएको छ ।
यस्तै बैठकमा साना लगानीबाट सञ्चालित मिडियालाई प्रविधिमैत्री बनाउन, साना लगानीबाट सञ्चालित मिडियालाई सम्बद्र्धन गर्न संघ, प्रदेश तथा स्थानीय तहमा छुट्टा–छुट्टै मिडिया विकास कोषको स्थापना गराउने समेत प्रतिवद्धता भएको छ ।
बैठकबाट पारित प्रतिवद्धता कार्यक्रममा प्रमुख अतिथि संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाइएको थियो । त्यसपछि आयोजित अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि पण्डितले अबका युग सकारात्मक सन्देश प्रवाह गरी विकास र समृद्धिमा लाग्नुपर्ने युग भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गरे ।
पण्डितले एकादुई सञ्चारकर्मीकोतर्फबाट गल्ती हुँदा नागरिकका तर्फबाट समग्र सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण फरक पर्ने बताए । सम्पुर्ण सञ्चारकर्मीहरुले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न समेत उनले आग्रह गरे । आफुले ग्रहण गरिसकेको समितिद्धारा पारित सात बुँदे ककनी प्रतिवद्धता पत्रलाई गम्भीरताका साथ लिएको बताउँदै उनले यसमा उल्लेख भएका विषयलाई पुरा गराउन सरकारका तर्फबाट भरपुर प्रयत्न गरिने प्रतिवद्धता जनाए । सामान्य प्रशासनमन्त्री पण्डितले समाज परिर्वतनमा पत्रकार तथा सञ्चामाध्यमको भूमिका महत्वपूर्ण रहेको प्रस्ट पार्दै त्यस्तालाई टिकाउन राज्यले केही न केही समन्वयकारी भुमिका खेल्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भेलाबाट साना लगानीबाट सञ्चालित सञ्चामाध्यमहरुको पिरमर्का नजिकबाट बुझ्ने मौका मिलेको बताउँदै अबका दिनमा आफुले संसद लगायतका हरेक निकायमा यसका पक्षमा जोडदार ढंगले आवाज उठाउने प्रतिवद्धता जनाए ।
उनले आफ्नो जिम्मेवारी कानून निर्माण र नमिलेका कानून मिलाउने समेत परेको भन्दै साना लगानीका मिडीया मैत्री कानुन हरेक तहका सरकारले निर्माण गरी त्यस्ता मिडीयाहरुलाई बचाउनुपर्ने बताए । उनले स्वतन्त्र, वास्तविक तथा स्वावलम्बी पत्रकारहरुको संस्थाका रुपमा यो समितिले भूमिका निर्वाह गर्दै आएको आफुलाई महशुस भएको भन्दै साना लगानीका पत्रपत्रिकाहरुले व्यावसायिक एकरुपता कायम गर्न सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपालका ठुला मिडियाहरु व्यापारी, तस्कर लगायतका अन्य व्यवसायीहरुका हातमा पुगेको बताउँदै साना मिडीयामैत्री नीति जारी गरिनुपर्ने बताए । मिडियामा केही कमी कमजोरी सच्चाउने तत्परता हामीमा पनि हुनुपर्ने उनले बताए ।
समानुपातिक विज्ञापन लागू नभएसम्म पत्रकार महासंघले नछाड्ने बताउँदै उनले यसको लागि जस्तोसुकै धर्ना विरोधका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सभापति तथा उक्त समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाज परिवर्तनमा साना लगानीबाट सञ्चालित सञ्चारमाध्यमहरुले खेलेको भुमिकाको मूल्यांकन हुनुपर्ने बताउँदै स्थानीय तहमा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरुको अवस्था नाजुक रहेकाले यसको प्रवद्र्धनका लागि राज्यबाट विशेष पहल हुनुपर्ने बताए । लोककल्याणीका विज्ञापनको समेत वृद्धि गर्न अनुरोध गर्दै उनले समानुपातिक विज्ञापन लागू गर्न माग गरे ।
प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस युनियन उपाध्यक्ष बाला अधिकारी, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, दलित पत्रकार मञ्चका अशोक दर्नाल, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ठाडा मगर, स्थानीय गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा लगायतले प्रतिवद्धताप्रति ऐक्यवद्धता जनाएका थिए ।
जर्मनकी पत्रकार एभा हनर्सले जर्मनीको पत्रकारिकताको वर्तमान अवस्थाबारे चर्चा गर्दै समितिले बुझाएको प्रतिवद्धताप्रति ऐक्यवद्धता जनाएको सो कार्यक्रमममा पत्रकार महासंघका केन्द्रीय पदाधिकारहरु तथा सातै प्रदेशका अग्रज पत्रकारहरुको उपस्थिति थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies