२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

सत्ता फेरिन्छ, चरित्र उस्तै

Nada
सत्यजीत
२०८२ चैत २९ गते ०६:००
Shares
सत्ता फेरिन्छ, चरित्र उस्तै

सत्ता परिवर्तनलाई प्रायः समाज परिवर्तनको सूचक मानिन्छ । शासन फेरिन्छ, अनुहार फेरिन्छ, नाराहरू फेरिन्छन् । तर एउटा गम्भीर प्रश्न बारम्बार उठ्छ– सत्ता फेरिँदा पनि चरित्र किन फेरिँदैन ? जनशास्त्रीय दृष्टिले हेर्दा यो प्रश्न केवल राजनीतिक असफलताको होइन, गहिरो सांस्कृतिक, संरचनागत र ऐतिहासिक निरन्तरताको परिणाम हो । सत्ता परिवर्तन केवल अनुहारको फेरबदल हो, तर चरित्र परिवर्तन भने संरचनाको विघटन हो– जबसम्म संरचना जस्ताको तस्तै रहन्छ, नयाँ शासक पुरानै छायाँको पुनर्जन्म मात्र हुन्छ ।

ncell

कुनै पनि देशको चरित्र त्यसको दीर्घकालीन संस्कार, मूल्य र शक्ति संरचनाबाट निर्मित हुन्छ । सत्ता भनेको केवल त्यो संरचनाको सतही तह हो । जब एउटा सत्ता ढल्छ र अर्को स्थापित हुन्छ, संरचनाको मूल जरा– जस्तै : वर्गीय विभाजन, जातीय पदानुक्रम, पितृसत्तात्मक सोच वा संरचनागत असमानता– यथावत रहन्छन् । परिणामतः नयाँ सत्ताधारी पुरानै संरचनाभित्र प्रवेश गर्छन् र त्यही संरचनाले उनीहरूलाई पुनः स्थापित गर्छ । व्यक्ति बदलिन्छ, तर प्रणालीले उसको चरित्रलाई उस्तै बनाइदिन्छ । जो सत्ताविरुद्ध चिच्याउँदै उठ्छ, उही सत्ता पुग्दा किन मौन बन्छ ? किनकि समस्या व्यक्ति होइन, शक्ति प्रयोग गर्ने संस्कार नै विकृत छ ।

जनशास्त्रीय अध्ययनले देखाउँछ कि शक्ति र चरित्रबीच गहिरो सम्बन्ध हुन्छ । शक्ति प्राप्त गरेपछि मानिसहरूमा व्यवहार परिवर्तन हुनु सामान्य हो । तर यदि समाजमा शक्ति प्रयोग गर्ने संस्कार नै शोषणमुखी छ भने जो सत्तामा पुग्छ, ऊ त्यही संस्कारको प्रतिनिधि बन्छ । उदाहरणका लागि, यदि राज्यसत्ता सधैं केन्द्रीकृत, दमनकारी र लाभमुखी रह्यो भने, नयाँ नेता पनि त्यही शैलीमा शासन गर्न प्रेरित हुन्छन् । यहाँ व्यक्तिगत नैतिकता भन्दा बढी महत्वपूर्ण कुरा हुन्छ– संरचनागत प्रोत्साहन ।

‘सत्ता’ र ‘सांस्कृतिक पुँजी’को अन्तरसम्बन्ध पनि महत्वपूर्ण छ । समाजमा प्रभावशाली बन्नेहरू प्रायः त्यही समूहबाट आउँछन्, जसले पहिले नै शक्ति, शिक्षा र अवसरमा पहुँच राख्छ । यसले सत्ताको पुनरुत्पादन सुनिश्चित गर्छ । त्यसैले नयाँ सत्ता पनि पुरानै सोच, व्यवहार र स्वार्थको निरन्तरता बन्छ । यहाँ परिवर्तनको भ्रम हुन्छ, तर वास्तविकता पुरानैको स्थायित्व हुन्छ ।

जनशास्त्रीय अध्ययनहरूले देखाउँछन् कि मानिसहरू आफ्नो समूहको मूल्य र व्यवहारलाई सहज रूपमा आत्मसात् गर्छन् । यदि राजनीतिक संस्कृतिमा भ्रष्टाचार, अवसरवाद र दण्डहीनता सामान्य मानिन्छ भने नयाँ नेतृत्व पनि त्यही संस्कृतिमा घुलमिल हुन्छ । यसलाई ‘नैतिक अनुकूलन’ भन्न सकिन्छ– जहाँ व्यक्ति आफ्नो व्यक्तिगत मूल्यलाई होइन, समूहको स्वीकृत मान्यतालाई प्राथमिकता दिन थाल्छ ।

ऐतिहासिक स्मृति र सामूहिक अनुभव पनि चरित्र नफेरिने प्रमुख कारण हो । यदि कुनै समाजले लामो समयसम्म शोषण, असमानता र असुरक्षाको अनुभव गरेको छ भने त्यसले ‘बाँच्नका लागि संघर्ष गर्ने मानसिकता’ विकास गर्छ । यस्तो मानसिकतामा सत्तामा पुगेपछि पनि व्यक्ति सार्वजनिक हितभन्दा व्यक्तिगत सुरक्षा र लाभतर्फ झुक्छ । यसले सत्तालाई सेवा होइन, अवसरको रूपमा परिभाषित गर्छ । सत्ता फेरिन्छ भने आशा जाग्छ, तर चरित्र नफेरिँदा निराशा जन्मिन्छ– यो निराशा व्यक्तिको होइन, समाजकै दीर्घकालीन रोगको संकेत हो ।

जनशास्त्रले ‘संस्थागत दुर्बलता’लाई पनि महत्वपूर्ण कारक मान्छ । यदि संस्थाहरू जस्तै : न्यायपालिका, प्रतिपक्ष, प्रशासन, प्रेस जगत र नागरिक समाज बलिया छैनन् भने, सत्तामा पुगेका व्यक्तिहरूलाई नियन्त्रण गर्ने संयन्त्र कमजोर हुन्छ । यस्तो अवस्थामा चरित्र सुधार्ने कुनै बाह्य दबाब हुँदैन, जसले गर्दा पुरानै व्यवहार दोहोरिन्छ । जहाँ शक्ति जवाफदेहिताभन्दा माथि हुन्छ, त्यहाँ चरित्र स्वतः कमजोर बन्छ, त्यसैले सत्ताको सुधार होइन, संस्थाको सुदृढीकरण नै समाधान हो ।

तर यसको अर्थ परिवर्तन असम्भव छ भन्ने होइन । जनशास्त्रीय दृष्टिले, वास्तविक परिवर्तनका लागि केवल सत्ता परिवर्तन पर्याप्त हुँदैन; सांस्कृतिक, संरचनागत र संस्थागत रूपान्तरण आवश्यक हुन्छ । शिक्षा प्रणालीले आलोचनात्मक चेतना विकास गर्नुपर्छ, सामाजिक मूल्यहरूले समानता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ र संस्थाहरूले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्नुपर्छ । नयाँ नेतृत्व पुरानो सोचको बन्दी भएमा, परिवर्तन केवल नाटक बन्छ, र जनता दर्शक मात्र, जसले हरेक पटक उही कथाको नयाँ अभिनय हेर्छ ।

‘सत्ता फेरिन्छ, चरित्र किन फेरिँदैन ?’ भन्ने प्रश्नको उत्तर समाजकै गहिरो तहमा लुकेको छ । जबसम्म हामी केवल सत्ताको परिवर्तनमा सीमित रहन्छौं र संरचनाको जरा खोतल्दैनौं, तबसम्म परिवर्तन सतही मात्र रहन्छ । वास्तविक रूपान्तरण तब मात्र सम्भव हुन्छ, जब समाजले आफ्नै मूल्य, सोच र शक्ति संरचनालाई पुनःपरिभाषित गर्न साहस गर्छ ।

यसरी हेर्दा, समस्या सत्तामा होइन, हाम्रो सामूहिक चेतना र संरचनामा छ । सत्ता केवल दर्पण हो, जसले समाजको वास्तविक चरित्र देखाउँछ । सत्तामा पुगेपछि चरित्र किन बिग्रिन्छ ? किनकि त्यहाँ पुग्ने बाटो नै सम्झौता, अवसरवाद र स्वार्थको ईँटले बनेको हुन्छ, त्यसैले नयाँ गन्तव्य पनि त्यस्तै हुन्छ ।

uae

सम्बन्धित खबर