२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पिरो अकबरेबाट वार्षिक १५ लाख कमाइ गर्दै खड्गबहादुर

Nada
२०८१ साउन २० गते १२:३०
Shares
पिरो अकबरेबाट वार्षिक १५ लाख कमाइ गर्दै खड्गबहादुर

इलाम : जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ ।

ncell

अकबरेबाटै कार्कीले वार्षिक १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेका थिए । ‘गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो’, कार्कीले भने, ‘प्रतिकेजी दुई सय ५० देखि ३ सय रुपैयाँसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।’

यो वर्ष कार्कीले ५ हजार बोट अकबरे रोपेका छन् । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर ८ रोपनी क्षेत्रमा खेती विस्तार गरेका छन् । उत्पादित अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उनी सुनाउँछन् ।

‘सबै खर्च कटाएर वार्षिक १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु’, भन्छन्, ‘दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ ।’

हरियो खुर्सानी प्रतिकेजी दुई सय ५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् । सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गरेका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाए ।

कार्कीकाले फार्ममा अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आएका छन् ।

सम्बन्धित खबर