
काठमाडौंः आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी काभ्रे ठेगाना भएका प्रकाश पाठक पक्राउ परेका छन् । एनसिबि मनिला, फिलिपिन्सको समन्वयमा फिलिपन्सबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा पक्राउ अनुमति प्राप्त भइ फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ मंसिर १७ गते उनीविरूद्ध डिफ्युजन जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तर्राष्ट्रिय स्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ जना विरूद्ध रेड नोटिस र ३ जनाविरूद्ध डिफ्युजन जारी भएको छ । जसमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ३४ जनाविरूद्ध रेड नोटिस र २ जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।