
गाउँमा वर्षा ढिलो आउँथ्यो, तर चुनाव सधैँ समयमै आइपुग्थ्यो । अचम्म के भने, चुनाव नआउँदासम्म गाउँलेले देखेका अनुहारहरू सीमित हुन्थे– हलेदो माटो, थकित किसान, खोला किनारको पुरानो पुल र चिया पसलका उही गफ, तर चुनावको मिति घोषणा हुनासाथ गाउँमा नयाँ–नयाँ प्रजातिका मानिसहरू देखिन थाल्थे, मानौँ चुनाव भनेको कुनै जैविक उत्सव हो, जहाँ नेताहरू आफैँ उम्रिन्थे ।
यसपालि पनि त्यही भयो ।
एक बिहान गाउँको मूल बाटोमा कालो गाडी धुलो उडाउँदै आइपुग्यो । गाडीबाट झरे– सेतो दौरा, चिल्ला जुत्ता, अनुहारमा मुस्कान यस्तो कि दाँतले घामलाई चुनौती दिइरहेका । गाउँलेहरू एक अर्कातिर हेरेर फुसफुसाए, ‘ए... चुनाव आयो जस्तो छ ।’
नेता जी पहिलो पटक जस्तो गरी गाउँ छिरे ।
‘म त हरेक महिना यहाँ आउँछु नि,’ उनले माइक समाउँदै भने, ‘तपाईँहरूले नदेख्नु भएको मात्र हो ।’
गाउँका बुढा हरिनाथ काकाले चियाको गिलास तल राख्दै बिस्तारै भने, ‘हामीले त महिनैपिच्छे चन्द्रमा देख्यौँ, तपाईँलाई चाहिँ पहिलो चोटि देख्दै छौँ ।’
तर नेता जीले त्यो सुनेनन् वा सुन्ने अभिनय गरेनन् ।
उनले भाषण सुरु गरे । गाउँको बाटो सम्झिए, पुल सम्झिए, विद्यालय सम्झिए, स्वास्थ्य चौकी सम्झिए–सबै कुरा पहिलो पटक थाहा पाएजस्तो गरी ।
‘यो बाटो त कस्तो दयनीय रहेछ !’
गाउँलेहरू अचम्ममा परे–यो बाटो त पाँच वर्षदेखि यस्तै थियो । नेतासँगै आएका कार्यकर्ता गाउँघर पस्न थाले । कसैलाई कम्बल, कसैलाई टोपी, कसैलाई पुरानो झोला ।
‘यो हाम्रो पार्टीको चिनो हो,’ उनीहरू गर्वका साथ भन्थे ।
गाउँकी माइली आमाले झोला समाउँदै सोधिन्, ‘छोरा, यो झोलामा अस्पताल जाने बाटो पनि छ कि छैन ?’
कार्यकर्ता हाँसे, ‘भोट हाल्नुभयो भने सबै कुरा आउँछ, आमा ।’
त्यसै दिन नेता जी गाउँको विद्यालय पुगे । बच्चाहरूलाई टाउकोमा हात राख्दै भने, ‘तिमीहरू नै देशको भविष्य हौ ।’
शिक्षकले बिस्तारै सोधे, ‘पाँच वर्षदेखि विद्यालयमा छाना छैन, त्यो भविष्य कहिले आउँछ ?’
नेता जी मुस्कुराए, ‘अब आउँछ, अब पक्का ।’
साँझ परेपछि चिया पसलमा नेता जी आए । गाउँलेहरू चुपचाप थिए । उनले आत्मीयता देखाउँदै भने, ‘हामी त तपाईँहरूकै मान्छे हौँ ।’
त्यसैबेला चियावालाले सोध्यो, ‘दाइ, तपाईँको घर यहीँ हो ?’
नेता जी अलमलिए, ‘भावनात्मक रूपमा... हो ।’
चुनाव नजिकिँदै गयो । नेताहरूको संख्या बढ्दै गयो । गाउँमा यति धेरै आश्वासन आए कि पुराना आश्वासनहरूलाई ठाउँ दिन नसक्ने भए । अन्ततः मतदानको दिन आयो । नेता जी फेरि आए–अन्तिम मुस्कानसहित ।
‘यो गाउँ मेरो मनमा बस्छ,’ उनले भने ।
भोट खस्यो । नतिजा आयो । नेता जी जिते ।
भोलिपल्ट बिहान गाउँ उही पुरानै थियो– उही बाटो, उही पुल, उही विद्यालय, उही स्वास्थ्य चौकी । फरक यति मात्र थियो– गाउँलेले फेरि नेताको अनुहार बिर्सन थालेका थिए ।
चिया पसलमा हरिनाथ काकाले गिलास समाउँदै भने, ‘अब पाँच वर्षपछि फेरि देखिएला ।’
चियावालाले मुस्कुराउँदै थप्यो, ‘त्यतिबेला नयाँ बहाना लिएर ।’
गाउँ शान्त थियो । चुनाव सकिएको थियो । भोटको मौसम फेरि बिदा भइसकेको थियो ।