
बर्दिया : समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन भइरहेको सुरक्षित आश्रय भवन मर्मत, बहुउद्देश्यीय उच्च सुरक्षित भवन निर्माण तथा स्वचालित साइरन जडान कार्यको स्थलगत अनुगमन गरिएको छ ।
जेड जुरीक फाउण्डेशन र स्वीस रि फाउण्डेशनको सहलगानीमा प्राक्टिकल एक्शन नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूहद्वारा सञ्चालित कार्यक्रमका पूर्वाधार तथा समुदायस्तरीय गतिविधिहरूका प्रगति, गुणस्तर तथा प्रभावकारिताबारे स्थलगत निरीक्षण गरिएको हो ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष जमानसिंह केसी, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडा अध्यक्ष तथा सदस्यहरू, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, प्राक्टिकल एक्शन नेपाल, वि–ग्रुपका प्रतिनिधि तथा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता थियो ।
टोलीले गेरुवा गाउँपालिका वडा नं. २, राजीपुरमा कर्णाली नदी कटान र बाढीको उच्च जोखिमसँग जुध्न निर्माणाधीन रहेको सुरक्षित आश्रय भवनको मर्मत तथा स्तरोन्नति कार्यको प्रगति निरीक्षण गरेको थियो । भवनको भौतिक संरचना, पहुँच मार्ग, समुदायको सुरक्षा आवश्यकतासँग मेल खाने पक्ष र निर्माण सामग्रीको गुणस्तरबारे टोलीले प्रत्यक्ष मूल्यांकन गरेको छ ।
समुदायले बाढीको समयमा आश्रयका लागि सुरक्षित तहमाथि भर पर्नुपर्ने भएकाले काम गुणस्तरीय तथा समयमै सम्पन्न गर्न निर्देशन दिइएको छ ।
यस्तै, वडा नं. ३ वनकट्टीमा भइरहेको बहुउद्देश्यीय उच्च सुरक्षित भवन निर्माण स्थलमा टोलीले कामको अवस्था, डिजाइन, उचाइ, सेफ्टी स्टान्डर्ड र उपयोगिताबारे अवलोकन गरिएको छ । बाढी सम्भावित क्षेत्रमा सुरक्षित बसोबास, तालिम तथा विपद्–समन्वय केन्द्रका रूपमा प्रयोग हुने यो संरचना समुदायका लागि महत्वपूर्ण जलवायु–अनुकूल पूर्वाधार हुने स्थानीयले बताएका छन् । वनघुस्रा क्षेत्रमा स्थापना हुँदै गरेको बहुप्रकोप स्वचालित साइरन प्रणालीसम्बन्धी तयारी तथा जडान प्रक्रियाको पनि निरीक्षण गरिएको छ । साइरनको पहुँच, विद्युत् जडान, सिग्नल परीक्षण तथा पूर्वसूचना व्यवस्थापनबारे टोलीले व्यवहारिक सुझावहरू प्रदान गरेको छ । साइरन सञ्चालनमा आएपछि बाढी तथा आकस्मिक जोखिमको सूचनाले समुदायलाई समयमै सतर्क बनाउने अपेक्षा छ ।
कार्यक्रमले स्थानीय सरकार, विपद् व्यवस्थापन समिति, समुदाय र सरोकारवालाबीच सहकार्य तथा समन्वय अभिवृद्धि गर्दै लगेको अनुगमन टोलीका सदस्यहरूको भनाइ छ । उनीहरूका अनुसार कार्यक्रमअन्तर्गतको पूर्वाधार निर्माण, क्षमता अभिवृद्धि तथा जोखिम हस्तान्तरण उपायहरू बीमा, पूर्वसूचना प्रणाली र अन्य जलवायु–अनुकूल गतिविधिहरू समुदायमा जलवायु उत्थानशीलता विस्तार गर्न प्रभावकारी बन्दै गएका छन् ।
अनुगमन टोलीले सबै गतिविधि गुणस्तर, समयसीमा र सामुदायिक आवश्यकताअनुसार पूरा गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ ।