२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

सहज र छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलको प्रतिबद्धता

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर १० गते २१:१५
Shares
सहज र छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलको प्रतिबद्धता

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले नागरिकका काममा कार्यालय समय बाहेक पनि सहज र छरितो सेवा दिने प्रतिबद्धता जनाएका छन् । 

गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा उनले भने, ‘हामी कर्मचारीले आफ्नो जिम्मेवारीका लागि सुत्ने बेला पनि कार्यालयको कामबारे सोच्नुपर्छ । म यही पालिकाको नागरिक पनि हुँ, गरेर देखाउनेछु । जनप्रतिनिधिसँग समन्वय गर्दै नियमित काम अघि बढाउने छु ।’

पौडेलले छत्रदेव भौगोलिक तथा सामाजिक रूपमा सन्तुलित भएको उल्लेख गर्दै कर्मचारीको टिम र जनप्रतिनिधिको टिम मिलेर परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए । 

‘हाम्रो कामले छत्रदेवको सफलता निर्धारण गर्छ । जागिरकै लागि होइन, गर्व गर्नलायक काम छत्रदेवमा गर्नुपर्छ । सुशासन, पारदर्शिता र मुस्कानसहितको सेवा नै मेरो प्राथमिकता हुनेछ,’ उनले भने । 

स्वागत समारोहमा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई बधाई दिँदै स्थानीय नागरिकका आशा–अपेक्षाहरू बुझेर सीमित स्रोत–साधनबीच असिमित आवश्यकताहरू पूरा गर्नुपर्ने जिम्मेवारी जनप्रतिनिधि तथा कर्मचारीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले राष्ट्रसेवक कर्मचारीले सरल, सहज, छिटोछरितो र पारदर्शी सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले भने, ‘युवा जोश र जागरका साथ अन्य ठाउँमा गरेका अनुभव उपयोग गर्दै अघि बढ्नुहुनेछ भन्ने विश्वास छ । छत्रदेव गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिकामध्ये एक हो, हामीलाई सधैं नियालेर हेरिन्छ। नागरिकलाई कुनै बहानामा दुःख दिने, पैसा लिने, ढिलासुस्ती गर्ने कार्य उचित हुँदैन । यस्तो गुनासो नआउने गरी काम भइरहेकाले अब अझै सुधार गर्दै अघि बढ्नेछ ।’

उनले जनतालाई मुस्कानसहित सेवा दिन कर्मचारी र जनप्रतिनिधि एकजुट हुनुपर्ने उल्लेख गर्दै बसाइँसराइ र विदेश पलायन रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । उनले गाउँमा युवाको कमी र बाँदर–बदेलेका समस्या समाधानका लागि थप प्रयास आवश्यक रहेको उल्लेख गर्दै आर्थिक विकास र रोजगारीका कार्यक्रम अघि बढाएर छत्रदेवलाई समृद्ध गाउँपालिका बनाउने लक्ष्य राखे । 

कार्यक्रममा उपाध्यक्ष मनि पन्थीले स्वागत गर्दै कर्मचारी तथा जनप्रतिनिधिबीच एकता र समन्वय अहिलेको मुख्य आवश्यकता भएको बताइन् । उनले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतबाट कुशल नेतृत्वको अपेक्षा गरिएको उल्लेख गर्दै सबै मिलेर छत्रदेवको विकासमा योगदान गर्नुपर्ने बताइन् । 

नेपाल सरकारको शाखा अधिकृतका रूपमा विभिन्न गाउँपालिका तथा मन्त्रालय–विभागमा जिम्मेवारी बहन गर्दै आएका पौडेल प्यूठानको गौमुखी गाउँपालिकाबाट गृहनगर अर्घाखाँचीको छत्रदेवमा आइ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । 

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता कमल पौडेल, वडाध्यक्षहरू काजिवावु ज्ञवाली, शंकर पाण्डे, तेजुराम खनाल, भीमलाल पराजुली, बालकृष्ण पोखरेल, नारायण पाण्डे, भीष्म कुँवर, स्वास्थ्य शाखा प्रमुख बुद्धि न्यौपाने, अधिकृत शिव बर्मा, तुल्सी न्यौपाने, इन्जिनियर साजन पाण्डेलगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर