२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

थन्किएका भ्रष्टाचारका फाइल खोल्दै सरकार

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर १० गते ०६:३०
Shares
थन्किएका भ्रष्टाचारका फाइल खोल्दै सरकार

काठमाडौं : सरकार थन्किएका भ्रष्टाचारजन्य फाइलमाथिको अनुसन्धान अगाडि बढाउनेतिर अग्रसर हुन खोजेको छ । भिभिआइपी र भिआइपी जोडिन सक्ने विषयमाथिको अनुसन्धान अघि बढे आगामी फागुन २१ मा तय भएको निर्वाचन प्रभावित हुन सक्ने कतिपयको आग्रह र चेतावनीबीच सरकार थन्किएका भ्रष्टाचारका फाइल खोल्नेतिर अग्रसर हुन खोजेको हो । 

२३ कात्तिकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधमा संलग्न फरार एक प्रतिवादी पक्राउ परेका थिए । 

रौतहट फतुवा हर्साह–९ का ४२ वर्षीय निराजन भन्ने निरन्जनकुमार खरेललाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार खरेल ठगी समूहसँग मिलेमतो गरी पीडितहरूबाट असुल गरिएको नगद तथा चेकमार्फत संकलित रकम ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी र कागजात किर्ते गरी रकम हात पार्ने गिरोहमा सक्रिय थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री वालकृण्ण खाणसमेत प्रतिवादी छन् । टोपबहादुर रायमाझीलगायत ठुलो संख्याका प्रतिवादी जेलमै छन् । राजनीतिक रूपमा यो मुद्दालाई कमजोर पारिएको र अनुसन्धानलाई पूर्णता नदिएको टिप्पणी भइरहेका बेला सरकारले यसमा संलग्नमाथि पुनः अनुसन्धान सुरु गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार यीसहित थन्किएका भ्रष्टाचारका करिब २० वटा फाइलमाथि अनुसन्धान अगाडि बढेको छ । 

यही १ मंसिरमा प्रधानमन्त्री सुशीला कार्की नागरिक समाजका अगुवाहरूसँग छलफलमा बसेकी थिइन् । सो छलफलमा समेत प्रधानमन्त्री कार्कीले आफू चुनावसँगै सुशासन कायम गर्नसमेत आएको दाबी गरेकी थिइन् । 

‘आन्दोलनको रापतापपछि सुशासनको क्षेत्रमा काम गरौं भनेर आएको हो । तर सुशासनका लागि काम गर्न खोज्दा दबाब आउँदो रहेछ’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘तथापि सरकारले १९/२० वटा फाइल अगाडि बढाउँदै छ ।’

प्रधानमन्त्री कार्कीका अनुसार थन्किएका भ्रष्टाचारका फाइलमाथिको अनुसन्धानको काम सिआइबीले गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले गरिरहेको छ । भ्रष्टाचारमाथि छानबिन नगर्न दबाब आए पनि आफू नझुक्ने प्रधानमन्त्री कार्कीको दृढता छ । 

सिआइबी र अख्तियारबाहेकका निकायबाट समेत थन्किएका भ्रष्टाचारका फाइलमाथि अनुसन्धान अगाडि बढेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै पेन्डिङ रहेका करिब साढे ७ सय उजुरीमाथि अनुसन्धान अघि बढाएको छ । 

विभाग स्रोतका अनुसार थन्किएका फाइलमाथि अनुसन्धान अघि बढेको हो । यसका लागि विभागमा रहेका १५ जनाभन्दा बढी  अधिकृतलाई अनुसन्धान अधिकारी तोकिएको छ । 

विगतमा थन्किएका र अहिले अनुसन्धान अघि बढेका फाइलहरूमा बैंकिङ क्षेत्र, सहकारी क्षेत्र, वित्तीय संस्था, करछली र क्यासिनोसँग सम्बन्धित ज्यादा छन् । यसबाहेक ट्रेड आधारित करछलीदेखि रियल इस्टेटमा आधारित करछलीलगायतका विषयसमेत रहेका छन् । 

यी फाइलका आरोपितहरूमा राजनीतिक व्यक्ति, व्यापारी पृष्ठभूमिका व्यक्ति ज्यादा रहेका छन् । थन्किएका के कस्ता फाइलमाथि अनुसन्धान अगाडि बढाउने भनेर विभागले उपमहानिर्देशकको संयोजकत्वमा उजुरी स्क्रिनिङ कमिटी नै बनाएको थियो । सो कमिटीले स्क्रिन गरेअनुसारका फाइलमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो ।

ADV

सम्बन्धित खबर