२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

गृहमन्त्री अर्यालबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

shivam cement
२०८२ मंसिर ९ गते ११:२७
Shares
गृहमन्त्री अर्यालबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

भैरहवा : गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको बताएका छन् । 

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ कार्यक्रममा आफ्नो उद्दघाटन मन्तव्य राख्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउदै, मन्त्री अर्यालले सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताए । "हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र  गर्न सक्दैनन् भन्ने कुराहरू कहिं कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिईरहेको छ," मन्त्री अर्यालले भने । 

"वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होईन । हामी कुनै अपेक्षाले आएका होईनौ र हाम्रो व्यक्तिगत ईच्छाले आएका होईनौं । देशको विशिष्ट अवस्थामा, शुन्यतालाई पुरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन । प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं," गृह मन्त्री अर्यालले भने ।   

हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाईसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना नहोला भन्न  सकिन्न, भने । यसैले आफ्ना अभिव्यक्तिहरूलाई दिई रहँदा यसतर्फ पनि सबैको जिम्मेवारीबोध गर्न अनुरोध गरे । 

"भयरहित निस्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनि प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं, अर्यालले भने ।  

यस सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेमा समेत मन्त्री अर्यालले विश्वास व्यक्त गरे । शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तीकै महत्वपूर्ण रहनेमासमेत मन्त्री अर्यालले जोड दिए । 

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चात् का कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको पनि गोष्ठीमा बताए ।  केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने छ भन्ने मैले विश्वास लिएको छु, मन्त्री अर्यालले भने ।  
 
राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याए । हामीले धेरै परिणाममा विशेष अपरेसन मार्फत् यी हतियार फिर्ता ल्याईसकेका र ठुलो संख्यामा कैदीहरू पनि फिर्ता भैसकेका जानकारी गराए । 

मन्त्री अर्यालले गोष्ठीमा गृह र प्रदेश सरकारका यी प्रयासहरूका बारेमा समीक्षा गरी थप प्रभावकारीरुपमा अगाडि बढ्ने गरी रणनीति तय गर्नेमा समेत विश्वास लिए । 

यस्तै,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्दघाटन मन्तव्य राख्नु हुँदै प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै  नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताए ।  उनले प्रदेशमासमेत २४ गतेको घटनाको बारेमा जेन-जी युवाहरूले नगरेको बताउनु हुँदै त्यसमा घुसपैठ भएको बताए । फागुनको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि अहिलेको हतियार फिर्ता नभए र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ नगर्ने हो भने चुनाव हुन मुस्किल हुने बताए । 
।   

कार्यक्रममा स्वागत मन्तव्यसहित सुरक्षा गोष्ठीको उदेश्य तथा कार्यक्रम माथि प्रकाश पार्दै सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेकोले अहिलेको मुख्य कार्यभार भने देशमा शान्ति सुरक्षा कायम गर्दै फागुन २१ गते चुनाव गराउनु सबै राष्ट्र सेवक कर्मचारीको दायित्व रहेको कुरा बताए ।  

सहसचिव पन्थीले यस गोष्टीबाट प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीती बनाएर काम गर्न गोष्ठी सहयोग सिद्द हुने विश्वास व्यक्त गरे ।  उनले विद्यमान हाम्रा कार्यशैलीमासमेत समीक्षा गर्नु पर्नुपर्ने  धारणा राखे ।  

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका तीनै सुरक्षा निकायका प्रमुखहरू दान बहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेम बहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीहरू तथा विभिन्न सञ्चार माध्यममा आवद्द संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
 

ADV

सम्बन्धित खबर