२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

चितवनमा दुर्घटनामा वृद्धि, साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

shivam cement
२०८२ मंसिर ९ गते १०:४१
Shares
चितवनमा दुर्घटनामा वृद्धि, साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

चितवन : गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा  २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन छन् ।

उनका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन् । तीमध्ये दुई सय एक मोटरसाइकल छन् । यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्यांकर २४, बस १५, टेम्पो १४  रहेका छन् । यस्तै टिपर दुई, माइक्रो बस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन् ।

गत आवको सोही अवधिमा दुई सय पाँच वटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए । फराकिला सडकमा तीव्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अहिले दुर्घटना बढेको उनले बताए । सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए ।

ADV

सम्बन्धित खबर