
काठमाडौं : २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा जारी अनुसन्धान भिआइपीमा पुगेको छ । गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले बिहीबार मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।
बयानमा अर्याललाई २३ र २४ भदौको घटनाका सन्दर्भमा प्रश्न सोधिएका थिए । भदौ २४ गतेपछि सरकारविहीन अवस्था र रिक्ततामा कसरी काम भयो भनेर भनेर पनि सोधिएको छ ।
गत ५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो । जसलाई जेनजी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन तथा आगजनी, प्रहरीका हतियार लुटपाट, हत्यालगायतका सबैखाले घटनाको छानबिनको जिम्मा दिइएको छ ।
आन्दोलनमा भएको सरकारी दमन, सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनीलगायतका विषयमा सत्यतथ्य पत्ता लगाई त्यसमा संलग्नको भूमिका किटान गरी दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मेवारी आयोगलाई छ । आयोगले कारागारभित्र भएको हुलदंगा र १० हजारभन्दा बढी कैदी फरार भएको विषयसमेत छानबिन गर्नेछ ।
९ असोजदेखि काम सुरु गरेको आयोगले मानवीय र भौतिक क्षतिको विवरण संकलन र अनुसन्धान एकसाथ अगाडि बढाएको छ । १२ असोजमै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय लिएको थियो । पछिल्लोपटक आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई पनि स्थानहद लगाएको छ ।
सोही अनुसन्धान क्रममा बिहीबार आयोगले मुख्य सचिव अर्यालको बयान लिएको हो । २३ भदौमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो । त्यस दिन घाइते भएका र २४ गतेको आन्दोलन क्रममा ७६ जनाको मृत्यु भएको छ । ७६ जनामध्ये ४५ जनालाई शहीद घोषणा गरिएको छ ।
कतिपयले आयोग २४ भदौको क्षतिको सन्दर्भमा अनुसन्धानमा केन्द्रित भएको र २३ भदौमा भएको दमनका सन्दर्भमा काम चासो राखेको टिप्पणी गर्न थालेका छन् ।