
रुकुम पश्चिम : रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बैठक तथा भेला सम्पन्न भएको छ । यी कार्यक्रमहरूमा पार्टी एकता, समीक्षा र अगाडि बढ्ने रणनीतिमा जोड दिइएको छ ।
सबै स्थानीय तहका बैठकमा बोल्दै नेकपाकी नेत्री बिमला केसीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत जनताका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले जनार्दन शर्मा ‘प्रभाकर’लाई अराजक भएको आरोप लगाउँदै प्रभाकरले पार्टी छोडे पनि जनताको अभिभावकत्व आफूहरूले सम्हालेको प्रष्ट पारिन् ।
केसीले रुकुमेली जनतालाई चौरजहारीमा प्रचण्डले बोलेका शब्दहरू स्मरण गराउँदै पार्टी एकताको महत्व उजागर गरिन् ।
हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहित १२ दलले पार्टी एकता तथा पुनर्गठन गरी नेपाली कम्युनिष्ट पार्टी गठन गरेका छन् । यसमा असहमति जनाउँदै जनार्दन शर्मा ‘प्रभाकर’ लगायतका नेताहरू प्रगतिशील अभियानतर्फ लागेका छन् ।