
एजेन्सी : साउदी अरबमा बस दुर्घटना हुँदा ४२ जना भारतीय नागरिकको मृत्यु भएको छ । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको हो ।
तेलंगानाका सूचना प्रविधि मन्त्री डी. श्रीधर बाबुले प्रारम्भिक तथ्यांकअनुसार मृत्यु हुनेमध्ये कम्तीमा १६ जना हैदरावादका भएको जानकारी दिए ।
दुर्घटना भारतको समय अनुसार बिहान साढे १ बजे मदिनाबाट करिब १६० किलोमिटर टाढा मौफरिहत क्षेत्रमा भएको हो । बसमा ४३ जना सवार थिए र एक जनामात्रै जीवित रहेको अनुमान गरिएको छ ।
पीडितका एक आफन्तका अनुसार तीर्थयात्रीहरूको समूह नोभेम्बर ९ मा हैदरावादबाट साउदी अरब गएको थियो । उनीहरू मक्कामा उमराह सम्पन्न गरी मदिनातर्फ फर्किने क्रममा दुर्घटना भएको हो । समूह अल मिना र अल मक्क ट्राभल्समार्फत यात्रा गरेको बताइएको छ ।
भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रियाधस्थित भारतीय दूतावास र जेद्दास्थित कन्सुलेट पीडितहरूलाई सक्दो सहयोग गरिरहेको बताए ।
जेद्दास्थित भारतीय दूतावासले घटनाबारे जानकारी लिनका लागि २४ घण्टा सञ्चालन हुने हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ । दूतावासले सार्वजनिक गरेको टोल–फ्री नम्बर ८००२४४०००३ मा सम्पर्क गरी परिवारजनले जानकारी लिन सक्नेछन् ।