
ढाका : बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । हसिनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका बेला मानवता विरुद्धका गम्भीर अपराध गराएको तथा उक्साएको आरोप सिद्ध भएको न्यायाधिकरणले जनाएको छ ।
भारतमा निर्वासनमा रहेका बेला नै उनी अनुपस्थित अवस्थामा मुद्दाको सुनुवाइ सम्पन्न गरिएको थियो । उपलब्ध प्रमाण, बयान तथा अभिलेखका आधारमा अदालतले हसिनालाई दोषी ठहर गरेको हो ।
ढाकास्थित बीबीसी संवाददाता अरुणोदय मुखर्जीकाअनुसार फैसला सुनाइएलगत्तै अदालतभित्र तथा बाहिर उत्सवमय वातावरण देखियो । केही समूहमा रहेका व्यक्तिहरू ‘फाँसी दे’ जस्ता नारासमेत लगाइरहेको देखिएको उनले बताए । अदालत कक्षमै समेत केही सेकेन्ड खुशी व्यक्त भएपछि न्यायाधीशले शिष्टता कायम राख्न आग्रह गरेको उनले जानकारी दिए ।
हसिनाविरुद्धको फैसलापछि बंगलादेशी राजनीति र अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो आउने हो भन्नेबारे चासो थपिएको छ ।