२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

गौरमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भिड 

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक २८ गते ११:२४
Shares
गौरमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भिड 

रौतहट :​जिल्लाको गौरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता तथा संशोधन कार्यका लागि शुक्रबार बिहानैदेखि नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावलीमा नाम संकलन तथा अद्यावधिक अभियानमा स्थानीयवासीको सक्रिय सहभागिता बढेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

कार्यालय परिसरमा बिहानैदेखि विभिन्न उमेर समूहका पुरुष तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको छ । नयाँ मतदाता दर्ता गर्न, नाम, ठेगाना वा जन्ममिति जस्ता विवरणहरूमा सुधार गराउन र मतदाता परिचयपत्रका लागि फारम बुझाउन आएका स्थानीयहरू लामो लाइनमा व्यवस्थित रूपमा उभिएका थिए ।

​जिल्ला निर्वाचन कार्याल रौतहटका प्रमुख छोटेलाल दासले दैनिक सयौं सर्वसाधारणलाई सेवा दिन भ्याई नभ्याई भएको छ । कार्यालय स्रोतका अनुसार मतदाता नामावली संकलन अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारीहरू गरिए पनि नागरिकको अत्यधिक चापका कारण कामको व्यस्तता निकै बढेको हो ।

​अभियान सुरु भएदेखि नै हामीले दैनिक सयौं जनालाई सेवा दिइरहेका छौँ, एक कर्मचारीले भने, पछिल्ला दिनहरूमा भीड झनै बढेको छ, जसले गर्दा सेवाग्राहीलाई केही समय कुर्नु पर्ने अवस्था आएको छ ।

सेवा लिन आएका स्थानीयहरूले भने लामो समय पर्खिनु परेको भन्दै गुनासो गरिरहेका छन् । उनीहरूले सेवा प्रवाहलाई थप चुस्त र सहज बनाउन कार्यालयले थप जनशक्ति तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् । बिहानैदेखि लाइनमा उभिएका छौँ, पालो आउन निकै ढिलो भयो, नाम नबताउने शर्तमा एक सेवाग्राहीले बताए ।

यस अभियानमा महिला मतदाताहरूको सक्रिय सहभागिता पनि उत्साहजनक देखिन्छ । आफ्नो नाम दर्ता गराउन वा विवरण अद्यावधिक गराउनका लागि धेरैजसो महिलाहरू पनि लामो लाइनमा धैर्यताका साथ पर्खिरहेका थिए । यसले आगामी निर्वाचनका लागि महिलाहरूको मताधिकार प्रयोगप्रतिको जागरुकता बढेको संकेत गर्दछ ।

​निर्वाचन कार्यालयले मतदाता नामावली संकलन अभियानलाई तोकिएको समयभित्र सफलतापूर्वक सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएको जनाएको छ । नागरिकहरूलाई पनि आवश्यक कागजातसहित समयमै कार्यालयमा उपस्थित भई आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर