
रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरूले म्याद थपको माग गर्दै बुधबारदेखि धर्ना थालेका छन् । गत साउन ३० गते सम्पन्न नगरसभापछि नगरपालिकाको बोर्डबाट करार कर्मचारीको म्याद थप गर्ने निर्णय भएपनि अहिलेसम्म म्याद नथपिएपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । म्याद नथपिँदा उनीहरू बिचल्लीमा परेका छन् भने पालिकाको कामकाजसमेत प्रभावित भएको छ ।
करारका कर्मचारीहरूले बुधबारदेखि नगरपालिका कार्यालयको अगाडि बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् । उनीहरूले म्याद थप नभए चरणबद्ध रूपमा थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
कर्मचारीहरूले कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई म्याद थपको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रमा दरबन्दी बाहेकका कर्मचारीलाई हटाउने र नयाँ भर्ना नगर्ने उल्लेख छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बोर्डको निर्णय नै सर्वोपरी हुने उनले स्पष्ट पारे ।
कार्यवाहक नगरप्रमुख खातुनले दैनिक ज्यालादारी र करारका कर्मचारीको म्याद थप्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएकाले आफूले नियमानुसार काम अघि बढाउन अनुमति दिइसकेको बताइन् । करारका कर्मचारीहरूले तत्काल म्याद थप्नुपर्ने माग गर्दै नगरपालिका प्रशासनलाई शीघ्र निर्णय गर्न आग्रह गरेका छन् ।