
काठमाडौं : हरेक राजनीतिक संकटमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस जेनजी आन्दोलनपछिको संकटमा अनिर्णीत बनेको छ । झण्डै एक महिनाअघि २८ असोजमा पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठक अझै सकिएको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बिदा लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर उडे पनि कांग्रेसको गाँठो फुकेको छैन । त्यसयता खड्काकै सभापतित्वमा बस्दै आएको केन्द्रीय समिति बैठकमा अझै २५ जना केन्द्रीय नेताले बोल्न बाँकी छ । सबै राजनीतिक दलले आफ्नो निर्णयलाई स्पष्ट पार्दै चुनावदेखि महाधिवेशनसम्मको तयारीमा लागिसके पनि कांग्रेसमा अझै के गर्ने ? निर्णयमा पुग्न सकस देखिएको हो ।
देशको राजनीतिक अवस्था धुमिल भएको र संसदीय लोकतन्त्रिक व्यवस्थामाथि प्रहार हुँदासमेत कांग्रेस आन्तरिक किचलोमा फसेको छ । खासगरी सरकारले तयारी गरेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने कि नजाने ?, पार्टीको १५औं महाधिवेशन निर्वाचन अघि कि पछि ? र महाधिवेशनको विकल्पमा ल्याइएको विशेष महाधिवेशको विषयमा कांग्रेस विभाजित छ । यसले पार्टी नै विभाजनतिर लैजाने हो कि भन्ने चिन्तासमेत बढेको एकाथरि नेताहरूले बताएका छन् । पार्टी अनिर्णयको बन्दी बन्नुको पछाडि सक्रिय राजनीतिबाट बिदा बसेका सभापति देउवा नै सिंगापुरबाटै हावी भएको नेताहरूले आशंका व्यक्त गरेका छन् ।
संस्थापन पक्षका शीर्ष नेता प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै नियमित महाधिवेशनमा जानुपर्ने पक्षमा दृढ उभिँदा संस्थापनइतर पक्षका नेताहरू निर्वाचनअघि महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व लिएर चुनावमा जानुपर्ने अडानमा छन् । ‘कांग्रेसलाई पूर्णरूपमा रिफर्म गर्न समयमै नियमित महाधिवेशन गर्नुपर्छ,’ वरिष्ठ नेता डा. शेखर कोइरालाले भने, ‘हामी चुनावबाट भाग्न सक्दैनौं । यो स्थितिमा चुनावअघि पार्टीको महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेतृत्व लिएर जनतामाझ जानुपर्छ । कांग्रेसलाई वडा तहबाटै पुनर्संरचित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’ पार्टीका जिम्मेवार व्यक्तिहरूले यो वा त्यो बहानामा मंसिरमा हुनुपर्ने महाधिवेशनको समय टार्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘नेताहरूले समयमा महाधिवेशनको खाका ल्याउन आलटाल गरेर समय गुजार्नुभएको छ । कांग्रेसको १५औं महाधिवेशन मंसिरमा नभए पुस मसान्तभित्र गर्नुपर्ने मेरो बटम लाइन रहेको छ ।’ महाधिवेशन कुनै हालतमा गर्नै नसक्ने अवस्थामा पुगेको हो भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट पार्टी पछि हट्न नहुने उनको अडान छ । ‘नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेमा पार्टी विभाजनको अवस्था जान सक्छ,’ कोइरालाले भने ।
तर सभापति देउवा पक्षमा रहेका विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतसहितका नेताहरूले आमनिर्वाचनपछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्नुपर्ने दाबी छाडेका छैनन् । सोही समूहका नेता गोपालमान श्रेष्ठ भने उपचारका लागि भारत गएका छन् । उनीहरूमध्ये धेरैले सत्ता र शक्ति भएकैबेला समानुपातिक बन्द सूचीमा नाम सूचीकृत गराउने चाहना रहेको छ । त्यसैका लागि पार्टीको नियमित महाधिवेशन रोकेर आफू सुरक्षित हुने नेताहरूको योजनाले सजिलै सफलता पाउन नसक्ने दोस्रो र तेस्रो तहका नेताहरूले बताएका छन् । संस्थापन पक्षकै २५ केन्द्रीय सदस्यले भने चुनावअघि नै महाधिवेशन गरेर जानुपर्ने साझा धारणा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेता सके महाधिवेशन नत्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको खोजीमा छन् । बैठकको सुरुमै महामन्त्री थापाले पुस १६–१९ सम्म १५औं महाधिवेशनको गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् भने त्यसका काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाखको २७–३० सम्म महाधिवेशन गर्ने अर्को कार्यतालिका पेस गरेको थियो । ‘यही नीति र यही नेतृत्वबाट कांग्रेस जनतामा जान सक्दैन,’ महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते बुझाएको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग बेवास्ता गरेर जान सकिँदैन । विधान त माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ । नियमित महाधिवेशन गर्न सके विशेष महाधिवेशनको मागसमेत सम्बोधन हुन्छ प्रतिनिधि सभाको निर्वाचनअघि महाधिवेशन गर्नैपर्छ ।’
तर महाधिवेशनपछि धकेल्ने प्रयासअन्तर्गत संस्थापन पक्षका नेताहरूले पछिल्लोपटक संसद् पुनस्र्थापनाको एजेन्डालाई पनि अघि सारेका छन् । विघटित प्रतिनिधि सभाका सचेतक श्याम मिघिरेले संसद् ब्युँताउने एजेन्डा बोकेर हस्ताक्षर अभियान चलाएका छन् ।
‘संसद् विघटन र सरकार गठन प्रक्रियालाई असंवैधानिक र अलोकतान्त्रिक छ,’ घिमिरेले मध्यान्हसँग भने, ‘यो व्यवस्थालाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापनामा जानुको विकल्प छैन । हाम्रा ५० सांसदले हस्ताक्षर गरिसके ।’ तर संसद् पुनस्र्थापनाका सन्दर्भमा पनि संसदीय दलमा दुई धार प्रस्ट देखिएको उनले बताए । ‘पार्टीको संसदीय दलमा दुईवटा धार देखिए, हामीले संसद् पुनस्र्थापना गरेर संविधान संशोधनमार्फत जेनजीका मागसमेत सम्बोधन गरेर मुलुकलाई निकास दिने पक्षमा छौं ।’ घिमिरेसहितका नेताहरूले संसद् ब्युताउने हस्ताक्षर अभियान चलाउँदै गर्दा महामन्त्री गगन थापा पक्षले त्यसको काउन्टर गरेको छ । ‘बद्लिँदो परिस्थितिमा नेपाली कांग्रेस चुनावबाटै समस्या समाधान खोज्न लाग्ने हो,’ पूर्वसांसद तथा केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन्, ‘पार्टीको महाधिवेशन एजेन्डालाई विषयान्तर गर्न केही नेता संसद् पुनस्र्थापना भनेर हस्ताक्षर गर्न लागेका छन् । त्यो कांग्रेसको निर्णय होइन ।’
केन्द्रीय समितिको बैठकमा अधिकांश नेताहरूले कांग्रेस चुनावमै जाने र चुनावअघि पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारीमा जुट्ने नयाँ प्रस्ताव अघि सारेका छन् । ‘महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारीमा जुटौं, अलमल गरेर समय बर्बाद नगरौं,’ विश्वकर्माले भने । उनले पार्टीका सबै तहको अधिवेशन तालिका तत्काल सार्वजनिक गर्न र त्यससँगै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलाई तीव्र गतिमा अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् । उनले भने, ‘नियमित अधिवेशनले पार्टीमा उत्साह, चाहना र रूपान्तरण ल्याउँछ भने आमनिर्वाचनले आमजनतामा आशा भर्छ र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत पु¥याउँछ । महाधिवेशनको तयारीसँगै आमनिर्वाचनको तयारी पनि समानान्तर रूपमा अघि बढाऔं ।’ यद्यपि केन्द्रीय समतिको बैठक एक महिनासम्म लम्ब्याएर नेताहरूले आगामी राजनीतिक यात्राबारे निर्णय लिन सकेका छैनन् । पार्टी अनिर्णीत बन्दा मुलुकको राजनीतिक निकासको विषयसमेत अलमलमा परेको आमटिप्पणी भइरहेको छ ।