२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

महेशले फर्काए साथी, ओलीले पाए ‘लाउड स्पिकर’ 

shivam cement
जनक नेपाल
२०८२ कार्तिक २४ गते १९:४८
Shares
महेशले फर्काए साथी, ओलीले पाए ‘लाउड स्पिकर’ 

काठमाडौं : चार वर्षअघिको एमाले विभाजनमा नेता माधवकुमार नेपाललाई दह्रो साथ दिएकी नेतृ रामकुमारी झाँक्री अन्ततः एमालेमा फर्किएकी छन् । तत्कालीन नेकपाकालको अन्तरपार्टी संघर्ष र त्यसपछिको विभाजनमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचक थिइन् । झाँक्री एमाले फर्किएपछि उनका पुराना अभिव्यक्ति र ओलीले फर्काएका जवाफ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘तपाईंहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला’ एमाले फर्किंदै झाँक्रीले भनिन् पनि, ‘त्यो मलाई स्वीकार्य छ ।’ विगतको समीक्षा गर्ने जिम्मा उनले इतिहासलाई दिइन् । 

हक्की स्वभावकी झाँक्री त्यस्तो बेला एमाले प्रवेश गरेकी छिन्, जतिबेला राष्ट्रिय राजनीतिमा पुराना दलहरू रक्षात्मक छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेला भएको जेनजी विद्रोह र लगत्तैको विध्वंसमा राष्ट्रले ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्‍यो । ओलीलगायत नेताहरूका दर्जनौ घरहरू जलाइए । स्वयम् झाँक्रीको घर पनि जलाइयो । तत्कालीन सरकारका प्रधानमन्त्रीका रुपमा ओलीलाई घटनाको मुख्यजिम्मेवार बनाउन जेनजी अगुवा मात्र होइन, नागरिक समाजबाट पनि गम्भीर प्रश्नहरू उठाइएको छ । 

यस्तोमा स्थायी कमिटी सदस्य महेश बस्नेत मात्र त्यस्ता नेता निस्किए, जसले ओलीलाई आफ्नै गाउँ गुण्डु लगेर नेतृत्वको रक्षा र पार्टी गतिविधि बढाउन देशभर सन्देश प्रवाह गरे । यसले आन्दोलनकारी शक्तिलाई उत्तेजना र आक्रोश बढाए पनि ११औं महाधिवेशनको मुखैमा रहेको एमालेका लागि जनपरिचालन र पार्टी संगठनलाई एकठाउँ उभ्याउन भने मद्दत पुगेको विश्लेषण भइरहेको छ । त्यहीबेला नेतृत्वले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्नेभन्दै बिनासर्त एमाले प्रवेश गरेकी झाँक्री अध्यक्ष ओलीका लागि ‘लाउड स्पिकर’ हुनसक्छिन् । किनभने, विपक्षीमाथि कडा शब्दमा जाइलाग्ने दुवैको स्वभाव मिल्छ ।

विगतमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई ‘शीतल निवास छाडेर बालकोट गए हुन्छ’ भन्ने विवादास्पद अभिव्यक्ति होस् वा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने ‘स्टन्ट’, कथाले मागे अनुसार जे पनि गर्न सक्छिन् भन्ने पुष्टि झाँक्रीले गरिसकेकी छिन् । घर फर्क अभियानको घोषणासभामै उनका अभिव्यक्तिले पनि त्यसको केही छनक दिइ सकेको छ । आफ्नो विचार प्रष्टसँग राख्न सक्ने झाँक्रीलाई ओलीले आफ्नै टिममा राखेर विपक्षीमाथि काउन्टर अट्रयाक गर्ने सम्भावना देखिन्छ । पार्टीमा महिला नेताको खडेरी पूर्तिका लागि पनि ओलीले झाँक्रीलाई उपयुक्त पात्र देखेका छन् । 

२०६२/०६३ को जनआन्दोलनबाट जन्मिएकी नेतृ हुन्, झाँक्री । राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि प्रतिगमन भएको भन्दै भएको प्रदर्शनमा उनको टाउको फुटेको थियो । धेरैले आन्दोलनका क्रममा रत्नपार्कमा रगताम्मे भएर ढलेको झाँक्रीको तस्बिर अझै सम्झिन्छन् । आन्दोलनका क्रममा त्यो तस्विर पोस्टर बनेको थियो । त्यसैले युवा विद्यार्थी आन्दोलनमा झाँक्री ‘पोस्टर गर्ल’का रुपमा पनि चिनिन्छिन् । 

सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम रावलदेखि घनश्याम भुसाल र योगेश भट्टराईले अन्तिम समयमा साथ नदिएका पूर्वप्रधानमन्त्री नेपालको हातै समाएर एकिकृत समाजवादी पार्टी दर्ता गराएपछि झाँक्री चर्चामा आएकी थिइन् । तर, समय क्रममा नेपालले उनै झाँक्रीलाई जिम्मेवारी दिएनन् । नेपाललाई भ्रष्टाचार मुद्दा लागेपछि झाँक्री नै सबैभन्दा ठूलो आलोचक भएर निस्किइन् । माओवादी केन्द्र र एकिकृत समाजवादीसहित १० वाम घटक एकताबद्ध हुँदा झाँक्री, किसन श्रेष्ठलगायतका केही नेताहरू भने एमाले फर्किएका छन् । १९ कात्तिकमा नेपाली कम्युनिष्ट पार्टी घोषणाअघि नै पत्रकार सम्मेलन गरेर उनीहरूले आफ्नो बाटो अलग भएको घोषणा गरेका थिए ।  

अर्का नेता किसन श्रेष्ठ एमालेमा फर्किँदा महेश बस्नेत खुसी देखिन्छन् । झाँक्री र श्रेष्ठलाई पार्टीको झण्डा र चुनावचिन्ह दिएसँगै ओलीले झाँक्रीको निधारमा घर फर्क अभियानको फेटा बाँधिदिए । श्रेष्ठको निधारमा फेटा बाँध्न भने बस्नेत अघि सरे । दुवैले एकैसाथ हात उठाएर दर्शकदिर्घामा अभिभावदनसमेत गरे । उनीहरू लामो समयदेखि अध्यक्ष ओलीनिकट मानिन्थे । २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई तनहुँमा पराजित गरेर प्रतिनिधिसभामा आएका श्रेष्ठलाई मन्त्री बन्ने ठूलो आकांक्षा थियो । एमाले–माओवादीको संयुक्त, नेकपाको एकलहुँदै पार्टी विवाद र विभाजनपछि झण्डै एक दर्जनपटक ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरे । थुप्रै नेताहरूलाई मन्त्री बनाए । तर, श्रेष्ठले त्यो अवसर पाएनन् । ओलीविरुद्ध हस्ताक्षर अभियान चलाउँदा सांसद्को खोज्न होस् वा जसपा विभाजनका लागि जनकपुरबाट सांसद् ल्याउँदा बस्नेत र श्रेष्ठ संगै खटिए । जसपा सांसद् अपहरणको आरोपसमेत लाग्यो । जति गरे पनि ओलीले मन्त्रीका लागि योग्य नदेखेपछि श्रेष्ठले पार्टी विभाजनलाई सघाए र मन्त्री बने । एमाले फर्किँदा विगतको त्यो कदमप्रति पश्चातापको भाषामा उनले सोमबार भने, ‘एमाले फुटाउनु जीवनकै भूल थियो भन्ने समयले बतायो ।’ 

ADV

सम्बन्धित खबर