
रौतहट : फतुवा विजयपुर नगरपालिका–२, शितलपुरका ५० वर्षीय शंकर साह बानियाको हत्याका दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै पीडित परिवार र स्थानीयले आइतबार जिल्ला अदालत गौर अगाडि विरोध प्रदर्शन गरेका छन् ।
जग्गा विवादका क्रममा केही दिनअघि कुटपिटबाट गम्भीर घाइते भएका साहको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोही मुद्दाको आइतबार जिल्ला अदालतमा बहस हुँदै गरेको अवस्थामा न्यायिक प्रक्रियामा दबाब सिर्जना गर्न प्रदर्शन गरिएको पीडित पक्षले जनाएको छ ।

मृतकका छोरा धर्मेन्द्र साह र सन्तोष साहले प्रहरी प्रशासनले वास्तविक दोषीलाई जोगाउन खोजेको गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार शितलपुर टोलका कपिलदेव यादव र विनोद यादवसँग जग्गाको विषयमा विवाद हुँदा साहमाथि कुटपिट भएको थियो ।
प्रदर्शनमा सहभागी फतुवा विजयपुर–२ का वडाध्यक्ष सञ्जय (अनिरुद्ध) यादवले राज्यको पक्षपातपूर्ण व्यवहारका कारण पीडितहरू सडकमा उत्रन बाध्य भएको बताए । उनले दोषीमाथि तत्काल कारबाही र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
आइतबार दिउँसो करिब दुई सय जनाको सहभागितामा मृतकका छोराहरूको नेतृत्वमा अदालतको मूलढोकामा धर्ना दिइएको थियो । प्रदर्शनकारीले 'हत्यारालाई कारबाही गर', 'प्रहरीको मिलेमतो बन्द गर' जस्ता नारा लगाएका थिए ।
पीडित परिवारले प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।