
रौतहटः कार्तिक पूर्णिमाका दिन बागमती नदीमा नुहाउने क्रममा वेपत्ता भएका बालकको शव तीन दिनपछि फेला परेको छ।
गत बुधवार नुहाउन गएका सर्लाहीको रामनगर गाउँपालिका–१ निवासी मनोज यादवका १३ वर्षीय छोरा आशिककुमार यादव बागमती नदीमा डुबेर वेपत्ता भएका थिए।
बालक वेपत्ता भएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य सुरु गरेपनि गहिरो पानी र तीव्र बहावका कारण बालकलाई फेला पार्न सकिएको थिएन। सशस्त्र प्रहरी बलको बर्दिवासस्थित विपद् उद्धार गोताखोर टोलीले उनको शव दुर्गा भगवती गाउँपालिका–२ को सीमाना क्षेत्रमा शुक्रबार बिहान फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी खैर्वा बौहरवा र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा शवको मुचुल्का उठाउने कार्य सम्पन्न गरी मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको जनाएको छ ।