
काठमाडौं : जेनजी आन्दोलन भदौ २३ र २४ गते भएको हो । २३ मा तत्कालीन राज्यले गोली चलायो र २२ जना प्रदर्शनकारीको मृत्यु भयो । त्यस पृष्ठभूमिमा भदौ २४ मा प्रदर्शन उग्र बन्यो । राज्यका महत्वपूर्ण निकायमा आगजनी र तोडफोड भए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भवन जले । प्रधानमन्त्रीको सरकारी निवास, राष्ट्रपति निवासदेखि राजनीतिक दलका पार्टी कार्यालय र नेताका घरसम्म जले । अन्य निजी सम्पतिमा समेत क्षति पुगेको छ ।
दुई दिनको आन्दोलनले सत्ता उलटफेर भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकार बनेसँगै जेनजी आन्दोलनमा भएका घटनाको अनुसन्धान अगाडि बढेको छ ।
राजनीतिक दलहरू भदौ २३ को आन्दोलन जेनजीको भएको र २४ गते भएको विध्वंसमा घुसपैठ भएको बताउँछन् । जेनजी अगुवाहरू भने भदौ २३ मा तत्कालीन सरकारले गरेको व्यवहारले सार्वजनिक सम्पत्तिमा क्षति हुने वातावरण बनेको बताउँछन् ।
जेनजी अगुवा रक्षा बम तत्कालीन सरकारको व्यवहार उचित नरहेको बताउँछिन् ।
‘हाम्रो माग सुशासन र भ्रष्टाचार नियन्त्रण हो । हामीले नागरिकको अवस्था बदल्न चाहेका हौं र सडकमा प्रश्न गर्न गएका हौं । तर तत्कालीन सरकारले गोली चलायो र एकै दिन २३ जनाको मृत्यु हुन पुग्यो’ बुधबार ललितपुरमा आयोजिक एक कार्यक्रममा उनले भनिन् ।
जेनजी आन्दोलनका अर्की अगुवा मोनिका निरौला भदौ २३ गते सडकमा जेनजी जाँदै गर्दा तत्कालीन राज्यले नागरिकको बाँच्न पाउने अधिकार पनि खोसेको स्मरण गर्छिन् । ‘त्यो एकदमै दमनकारी जनतामाथि भएको बर्बर दमन थियो,’ उनी भन्छिन्, ‘रातभरि प्रहरीले आन्दोलनकर्ताहरूलाई धम्क्याउने त्रास दिने कार्यक्रम चलाइरहेको थियो र त्यस्तोमा २४ गतेको घटना स्वाभाविक थियो ।’
अहिले पनि भदौ २४ को घटनाको आरोप कसलाई थोपर्ने भन्ने प्रश्न आइरहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘अपदस्थ सरकार प्रमुखले थाहै थिएन भन्दै गर्दा, मलाई कुनै पनि सुरक्षा निकायका प्रमुख गुप्तचर निकायका प्रमुखले कुनै पनि खालको सूचना प्रदान गरेनन् भन्नु भनेको असक्षमताको चरम सीमा हो ।’
उनी थप्छिन्, ‘सरकार प्रमुखले नेपाली जनतामाथि यति ठुलो हत्या गरिसकेपछि भोलिपल्टको घटनाहरूलाई चाहिँ प्रिभेन्ट गर्न नसक्नु जनताको निजी सम्पत्ति, जनताको जनजीवन प्रोटेक्ट गर्न नसक्नु भनेको तत्कालीन सरकार राज्यको फेलियर हो । त्यसलाई अरू कुनै पनि ढंगले व्याख्या गर्न सकिँदैन ।’
३६ हजारभन्दा बढी भिडियो संकलन
प्रहरीका अनुसार भदौ २४ मा भएको आगजनी तथा तोडफोड, लुटपाटजस्ता गतिविधिसँग सम्बन्धित ३६ हजारभन्दा बढी भिडियो, फोटोहरूसहितको प्रमाण संकलन भएको छ ।
प्राप्त भिडिओ, फोटोहरूका आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ ।
यही तथ्यांक देखाएर कतिपय जेनजी अगुवा वर्तमान सरकार भदौ २३ बारे मौन बसेको र भदौ २४ को घटनाउपर अनुसन्धानको नाममा पक्राउ र मुद्दा दर्तामा अगाडि बढेको गुनासो गर्छन् ।
प्रहरीहरू भने भदौ २३ बारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको बताउँछन् ।
तर जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा व्यक्ति भने पक्राउ परिरहेका छन् । कतिपयविरुद्ध मुद्दासमेत चलिसकेको छ ।
प्रहरीको पछिल्लो तथ्यांकअनुसार देशभरबाट ३ सय ७५ जनालाई पक्राउ परेका छन् । १ सय ४१ वटा मुद्दा दर्ता भइसकेको छ । सबैभन्दा काठमाडौं उपत्यकाबाट २ सय १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ । साथै ९६ वटा मुद्दा दर्ता गरिएको छ ।
कोशी प्रदेशबाट ३० जना पक्राउ परेका छन् भने चारवटा मुद्दा दर्ता भएको छ । तोडफोड, आगजनी तथा लुटपाटजस्ता गतिविधिमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको प्रहरीको भनाइ छ ।
मधेश प्रदेशमा २१ जनालाई पक्राउ गरिएको छ भने मुद्दा दर्ताको संख्या ६ वटा छ । बागमतीमा ३३ जना अभियुक्त पक्राउ परेका छन् भने ११ वटा मुद्दा दर्ता भएको छ ।
गण्डकीमा ३२ जना अभियुक्त र सातवटा मुद्दा, लुम्बिनीमा २९ जना अभियुक्त र ११ वटा मुद्दा दर्ता, कर्णालीमा चार जना अभियुक्त र तीनवटा मुद्दा दर्ता तथा सुदूरपश्चिम प्रदेशमा आठ जना अभियुक्त र तीनवटा मुद्दा दर्ता भएको छ ।