२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

कार्की सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौं : विप्लव

shivam cement
२०८२ कार्तिक २० गते १६:५०
Shares
कार्की सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौं : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गरे ।

उनले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे । उनले संसद् विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरू सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताए ।

महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए । प्रशासनिक सुधार, विश्वविद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उनको माग छ । 

उनले भने, ‘नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो । जेनजीले नै संसद र सरकारविरुद्ध नारा लगाए । हामीले पनि साथ दियौं ।  तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ । यदि जेनजीको मागहरू पूरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहको रूपमा अघि बढ्नसक्छ । त्यसैले समयमै हामी सबैले साच्नुपर्छ । आफ्नो आफ्नो रोटि सेक्ने होइन अधुरो क्रान्ती पुरा गर्ने समय छ । संसद् विघटन त भएको छ तर देशलाई लुटेका लुटेराहरू खुला रूपमा भाषण गर्दै हिँडिरहेका छन् । हामी जेनजी आन्दोलनलाई पूर्णतः सफल बनाउन हामीले केही अपिल गर्दै आएका छौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ । सरकारमा कार्कीसहितका मन्त्रीहरूलाई कसले ल्यायो । रहस्यमय तरिकाले सरकार गठन गरियो ? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ । संविधान संशोधन र पुर्नलेखन गर्नुपर्छ, त्यहीअनुसार राज्यको पुनर्संरचना गर्नुपर्छ । अहिले पनि राज्यका संरचनाहरू नेपाली जनताका भएका छैनन् । आज नेताको सम्पत्ति त जल्यो तर त्यो सम्पत्ति कसरी आर्जन गरियो भन्ने कुराको खोजी गर्नुपर्छ कि पर्दैन ? प्रशासनिक संरचनाको सुधार गर्नुपर्छ । विश्वविद्यालयका विद्यार्थीहरूले प्रशासन चलाउनेगरी तयार बनाउनुपर्छ ।’

उनले जेनजी आन्दोदनका मागहरूप्रति राजनीतिक दलहरू गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर